हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवाको प्रभावकारिता बढाउन पर्याप्त बजेट, दक्ष जनशक्ति र प्रविधि आवश्यक रहेको बताएकी छन्।
हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हाल आवश्यक जनशक्ति, बजेट र प्रविधिबिना नै सेवालाई सुधार गर्ने प्रयास भइरहेको बताएकी हुन्। उनले डाँक ढुवानीका लागि बजेट अभाव रहेको बताइन्। उनले कर्णाली प्रदेशमा डाँक ढुवानीको बजेट ६० प्रतिशतले घटेर आएको जानकारी दिइन्। यातायात व्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हाल कर्णालीमा डाँक ढुवानी व्यवस्थापन भइरहेको उनको भनाइ छ।
हुलाक सेवाका सवारीसाधन र मोटरसाइकललाई पनि डाँक ढुवानी तथा कार्यालयको काममा प्रयोग गर्ने गरिएको उनले बताइन्। निर्देशनालयमा रहेका सवारीसाधनबाट हुलाक सामग्री ढुवानी गर्ने र कार्यालयका मोटरसाइकल डाँक सेवामा प्रयोग गर्ने गरिएको उनले बताइन्। उनले विभागमा सूचना प्रविधिसम्बन्धी छुट्टै शाखा स्थापना गर्नुपर्ने आवश्यकता समेत औँल्याइन्।
हुलाक सेवाको बदलिँदो आवश्यकताअनुसार छुट्टै शाखा आवश्यक देखिएको उनको भनाइ छ। वैदेशिक हुलाक सेवासँग जोडिएर काम गर्दा विभिन्न सफ्टवेयर सञ्चालन, अन्तर्राष्ट्रिय प्रणालीमा हुने परिवर्तन र डाँक मार्गसम्बन्धी समन्वय आवश्यक पर्ने उनले बताइन्। विश्व हुलाक संघ र एसिया–प्रशान्त हुलाक संघका प्रणालीमा हुने परिवर्तनसँगै नेपालको हुलाक सेवाले पनि आफ्नो प्रणाली अद्यावधिक गर्नुपर्ने उनको भनाइ छ।
प्रविधिसम्बन्धी तालिममा लगानी गर्न पनि आवश्यक रहेको उनले बताइन्। केही तालिम आन्तरिक स्रोतबाट सञ्चालन गर्न सकिए पनि विशेष सीप आवश्यक पर्ने तालिमका लागि दक्ष प्रशिक्षक जुटाउन र समयमै तालिम सञ्चालन गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ। उनले स्थानीय तहको सहयोगमा स्थानीय स्तरमा रहेका कार्यालयहरूमा कम्प्युटरलगायतका उपकरण जुटाउन थालिएको बताइन्।
उनले भनिन्, ‘कर्णाली प्रदेशको अवस्था हेर्ने हो भने डाँक ढुवानीको बजेट ६० प्रतिशतले घटेर आएको छ। यस्तो अवस्थामा कसरी काम गर्ने भन्ने विषयमा हामी सबै बसेर छलफल गर्यौँ। जिल्लाहरूमा रहेका रकम, निर्देशनालयमा विनियोजित रकमलगायत उपलब्ध स्रोतलाई एकीकृत गरेर हिसाबकिताब गर्यौँ। त्यसपछि यातायात व्यवसायीहरूसँग पनि छलफल गरियो। छलफलका क्रममा यातायात व्यवसायीहरूले हालका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने प्रतिबद्धता जनाए। त्यसअनुसार कर्णालीमा व्यवस्थापनको प्रयास गरिरहेका छौँ। कात्तिकपछि थप रकम माग गर्न सकिने भएकाले सोहीअनुसार योजना बनाएका छौँ। कोशी प्रदेशको विराटनगर क्षेत्रलाई हेर्दा पनि विभिन्न निकायको सहयोगमा राम्रा अभ्यासहरू भएका छन्। तर, त्यहाँ बजेट अत्यन्तै न्यून भएकाले केही विषयमा थप सम्बोधन गर्नुपर्ने अवस्था छ। हामीले जिल्लामा उपलब्ध सवारीसाधनलाई पनि साझा रूपमा प्रयोग गर्ने अभ्यास सुरु गरेका छौँ। अब क्षमता विकासमा लगानी गर्नु अत्यन्तै आवश्यक छ। हामीले विभिन्न सफ्टवेयरमा काम गर्नुपर्ने हुन्छ, विशेषगरी वैदेशिक हुलाकसँग सम्बन्धित काम गर्दा थप सफ्टवेयरहरू प्रयोग गर्नुपर्ने भएकाले निरन्तर तालिम आवश्यक पर्ने रहेछ। कतिपय तालिम हामी आफैँले अतिरिक्त खर्चबिना सञ्चालन गर्न सक्छौँ। तर, कतिपय तालिमका लागि बजेट आवश्यक पर्छ। क्षमता विकासका लागि लगानी आवश्यक छ। हामीले हुलाकलाई पीपलको रूखजस्तै फैलिँदै जाने संस्थाका रूपमा विकास गर्ने प्रयास गरेका छौँ। पीपलको रूखले जसरी आफ्ना हाँगाहरू फैलाउँछ, त्यसैगरी हुलाक सेवाले पनि आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अघि बढ्नुपर्छ भन्ने हाम्रो सोच हो। समय परिवर्तन हुँदै जान्छ र प्रणालीहरू पनि निरन्तर परिवर्तन भइरहन्छन्। हुलाक सेवा विभागमा सूचना प्रविधिसम्बन्धी छुट्टै विशेष शाखाको आवश्यकता देखिएको छ। अहिले यस्तो शाखाको अभाव छ। उक्त शाखाले सबै प्रदेश, जिल्ला र देशभरका हुलाक कार्यालयको सूचना प्रविधिसम्बन्धी काम हेर्न सक्ने हुनुपर्छ। त्यसैले विभागको संरचनामा यस्तो शाखा थप्नु आवश्यक भइसकेको छ।’
उनले विगतमा विमानस्थल, एक्सप्रेस वे र कार्यालय सञ्चालनसम्बन्धी समस्या रहे पनि त्यसलाई समाधान गर्दै लगिएको जानकारी दिइन्। सीमित स्रोतसाधनका बीच पनि हुलाक सेवामा सुधारका प्रयास जारी रहेको उनको भनाइ छ।
