२८ असोज, गोरखा । बूढीगण्डकीमा आएको बाढीका कारण उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्। बाढीले चुमनुब्री गाउँपालिका–३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएपछि चुमनुब्री र आसपासका बस्तीमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो।
आइतबार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले लघुजलविद्युत् आयोजना बगाएको थियो। आयोजनाका अध्यक्ष सुजन गुरुङका अनुसार चुमनुब्री गाउँपालिकाका वडा नं. ३ र ६ मा विद्युत् सेवा ठप्प भएको छ।
लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन र सिर्दिबासलगायतका बस्तीका ९७१ घरधुरी प्रभावित भएका छन्।
बाढीले विद्युत्का १२ वटा पोल, एउटा टावर र तारहरू बगाएको अध्यक्ष गुरुङले बताए। उनका अनुसार विद्युत् आयोजनाको पावर हाउस भने सुरक्षित छ। आइतबार बिहान ४ बजेदेखि उक्त क्षेत्रमा विद्युत् सेवा बन्द रहेको छ।
विद्युत् र इन्टरनेट अवरुद्ध हुँदा उत्तरी गोरखाको जनजीवनसँगै सरकारी सेवा प्रवाहमा समेत समस्या भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए। उनका अनुसार पालिकाको प्रशासनिक काम ठप्प भएको छ भने निजी संघसंस्था र स्थानीय बासिन्दासमेत प्रभावित भएका छन्।
बाढीले पुल, सडक र विद्युत् संरचनामा क्षति पुर्याउँदा सूचना आदानप्रदान गर्न कठिन भएको सापकोटाले बताए। बाढी आउनुअघि फोनमार्फत सूचना सम्प्रेषण गर्न सम्भव भएकाले सयौँ मानिसको ज्यान जोगाउन सहयोग पुगेको उनको भनाइ छ। फिलिमका केही घरमा जडान गरिएका सोलार प्रणालीबाट मोबाइल चार्ज गरेर स्थानीयले बाहिर सम्पर्क गर्ने गरेका छन्।
चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्नसमेत कठिन भएको छ। फिलिमबाट माथि वा तल जाने बाटो नहुँदा स्थानीयको आवागमन अवरुद्ध भएको उनले बताइन्। विद्युत् सेवा बन्द हुँदा बस्तीहरू थप समस्यामा परेको र उत्तरी गोरखाका अधिकांश गाउँमा बिजुली तथा इन्टरनेटको समस्या रहेको उनको भनाइ छ। बाढीबाट मानवीय क्षति भने नभएको उनले जानकारी दिइन्।
यसैबीच, बाढीका कारण धार्चे गाउँपालिकाका सातवटै वडाका करिब चार हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतका अनुसार बाढीले नेपाल विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा क्षति पुर्याएपछि गाउँपालिका अन्धकारमय बनेको हो। बाढीले विद्युत्, सञ्चार, सडक र पुलमा क्षति पुर्याएको उनले बताए।
त्यस्तै, आरुघाट गाउँपालिकाका ५० घरधुरी पनि विद्युत् सेवाबाट वञ्चित भएका छन्। गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार वडा नं. ५ को शान्तिबजार क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ।
