जनकपुरधाम–मिथिलाञ्चल क्षेत्रमा आज परम्परागत सांस्कृतिक विधिअनुसार कोजाग्रत पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाइएको छ।
यस अवसरमा ऐतिहासिक जानकी मन्दिरमा भगवान् राम र माता सीताको ‘चुमाओन’ अनुष्ठानका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित रतौलीबाट १०८ वटा ‘पाहुर’ (सनेस–कोसेलीको भार) ल्याइएको छ। विगत १४२ वर्षदेखि निरन्तर चल्दै आएको यो परम्पराले यस वर्ष पनि निरन्तरता पाएको हो।
महोत्तरीको रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको परिवारले पुस्तौँदेखि कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा पाहुर पठाउँदै आएको छ। यही परम्पराअनुसार यस वर्ष मन्दिर परिसरमा ल्याइएको पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, मौसमी तरकारी तथा भगवान् श्रीराम र माता जानकीका लागि विशेष वस्त्र समावेश गरिएका छन्। पाहुर समर्पणपछि मन्दिरमा शास्त्रीय विधिअनुसार सीतारामको चुमाओन अनुष्ठान सम्पन्न गरिएको हो।
ठाकुर परिवारका सदस्य नवीन ठाकुरले १४२ वर्षदेखि चल्दै आएको यो विशिष्ट पारिवारिक तथा सांस्कृतिक परम्परालाई कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार पुर्खाबाट हस्तान्तरण हुँदै आएको यस सांस्कृतिक जिम्मेवारीलाई नयाँ पुस्ताले पनि गौरवका साथ निरन्तरता दिइरहेको छ।
कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिर परिसरमा विशेष भजनकीर्तन तथा मिथिलाको मौलिक हास्यपरिहासका कार्यक्रमसमेत आयोजना गरिएको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन उत्सवको रौनक बढाउन परम्परागत हास्यव्यङ्ग्य तथा सांस्कृतिक गायनको व्यवस्था गरिँदै आएको जानकारी दिएका छन्। यस पर्वले मन्दिरमा मात्र नभई समग्र मिथिलाञ्चलवासीमा समेत छुट्टै उमङ्ग ल्याउने गरेको उनको भनाइ छ।
धार्मिक अनुष्ठानसँगै कोजाग्रत पूर्णिमा मिथिलाका नवविवाहित दम्पतीका लागि पनि विशेष सामाजिक उत्सवका रूपमा स्थापित छ। यस दिन बेहुलाको घरमा ससुराली पक्षबाट विशेष पाहुर पठाउने चलन छ। ससुरालीबाट प्राप्त सामग्री प्रयोग गरी ज्येष्ठ महिलाहरूले मन्त्रोच्चारणसहित बेहुलाको चुमाओन गरेर ‘दुरवाक्षत’ अर्थात् दूबो र अक्षतासहित आशीर्वाद दिने परम्परा छ।
अनुष्ठान सम्पन्न भएपछि परिवार तथा आफन्तलाई भोज खुवाउने र गाउँभरि पान तथा मखान वितरण गरेर आपसमा खुसी साटासाट गर्ने मौलिक चलन पनि मिथिलाञ्चलमा रहिआएको छ।
