पथरी, ८ कात्तिक। मोरङको पथरीशनिश्चरे नगरपालिका–३, सिरिजंघा चोकस्थित सिरिजंघा खेलमैदानमा पाँचौँ सिरिजंघा वडाध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। सिरिजंघा स्पोर्टिङ क्लबको आयोजनामा प्रतियोगिता कात्तिक १० देखि १७ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा आठवटा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीमा सिरिजंघा एफसी पथरी, हिमाल युनाइटेड कानेपोखरी, एलएक्स सिटी एफसी बेलबारी, टाडी स्पोर्टिङ क्लब मिक्लाजुङ, लेटाङ एफसी, मंगलबारे एफसी, गोर्खा युनाइटेड एफसी उर्लाबारी र सुनौलो कल्याण एफसी पथरी रहेका छन्।
प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।
आयोजकले सार्वजनिक गरेको खेलतालिकाअनुसार कात्तिक १० गते सिरिजंघा एफसी पथरी र हिमाल युनाइटेड कानेपोखानीबीच उद्घाटन खेल हुनेछ। कात्तिक ११ गते लेटाङ एफसी र मंगलबारे एफसीबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, कात्तिक १२ गते एलएक्स सिटी एफसी बेलबारी र टाडी स्पोर्टिङ क्लब मिक्लाजुङ तथा कात्तिक १३ गते गोर्खा युनाइटेड एफसी उर्लाबारी र सुनौलो कल्याण एफसी पथरीबीच खेल हुनेछ।
प्रतियोगिताका सबै खेल दिउँसो ३ बजे सुरु हुनेछन् भने फाइनल खेल कात्तिक १७ गते हुनेछ।
