९ कात्तिक, काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहार हुँदा एकै परिवारका चारजना घाइते भएका छन्। दशैं मनाउन ससुराली आएका ४३ वर्षीय नइन्द्रकुमार राईले उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेनिना राई र नरेन्द्र राई छन्। प्रहरीका अनुसार अन्जना नइन्द्रकुमारकी श्रीमती, स्यामाउन सासू, नरेन्द्र ससुरा र तेनिना साली हुन्।
खोटाङका प्रहरी सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार आक्रमणबाट अन्जना र तेनिनाको अवस्था गम्भीर छ। उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल दुर्छिम पठाइएको छ।
घटनामा संलग्न नइन्द्रकुमारलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।
