कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
काठमाडौँ, ९ कात्तिक। सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ। दसैँका कारण नियमित तालिकामा परिवर्तन गर्दै यस वर्षको पहिलो चरणको कार्यक्रम उक्त मितिमा सञ्चालन गर्न लागिएको हो।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
कार्यक्रमअन्तर्गत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ तथा २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको विभागले जनाएको छ।
बालबालिकामा कुपोषणको जोखिम घटाउन र विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन सरकारले नियमित रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालमा २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको हो।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमलाई प्रभावकारी बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने विभागले जनाएको छ।
