• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
0
SHARES
0
VIEWS

विश्व क्रिकेटका चर्चित खेलाडीलाई नेपाली मैदानमा हेर्ने समर्थकको उत्साहबीच नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुँदैछ । तर प्रतियोगिता सुरु हुनै लाग्दा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले खेलाडीलाई अब्जेक्सन लेटर (एनओसी) जारी गर्ने प्रक्रिया रोकेको चर्चासँगै एनपिएलका केही फ्रेन्चाइज टोलीको योजना प्रभावित हुने देखिएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेलसँगै एनपिएलको तेस्रो संस्करण सुरु हुँदैछ । उक्त खेल साँझ ५ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

विश्व क्रिकेटका परिचित खेलाडी र नेपाली प्रतिभाबीचको प्रतिस्पर्धाले यसपटकको लिगलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । तर पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्तिम निर्णय नहुँदा प्रतियोगिता सुरु हुनुअघि नै आयोजक नेपाल क्रिकेट संघ (क्यान) दबाबमा परेको छ । पिसिबीले समयसीमा तोकेर प्रतिखेलाडी २५ हजार डलर माग गरिरहेको छ ।

पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान र हुसेन तलत नेपाल आइसकेका छन् । हैदर अली, हुनैन साह, इफ्तिखार अहमद, हसन अली र उसामा मिर पनि एनपिएलमा सहभागी हुने खेलाडीको सूचीमा छन् । तर पिसिबीले एनओसी जारी गर्ने प्रक्रिया रोकेको बताइएपछि उनीहरूको सहभागिता सुनिश्चित हुन सकेको छैन । केही खेलाडी नेपाल आइसकेको अवस्थामा समेत अनुमति रोकिएको चर्चा छ भने अन्य खेलाडीको नेपाल आउने यात्रा निर्णय नहुँदासम्म स्थगित भएको बताइएको छ ।

विदेशी फ्रेन्चाइज लिग खेल्न सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसैले पिसिबीको निर्णयले पाकिस्तानी खेलाडीको सहभागिता प्रत्यक्ष रूपमा निर्धारण गर्नेछ । एनओसी नपाएमा उनीहरूले प्रतियोगिता खेल्न पाउने छैनन् । यसले विदेशी स्टार खेलाडीको उपस्थितिबाट एनपिएलको आकर्षण बढाउने योजनामा समेत असर पार्न सक्छ ।

प्रतियोगिताको तयारी पूरा भएको घोषणा गरेको क्यानका लागि अब खेलाडीको सहभागिता सुनिश्चित गर्नु अर्को चुनौती बनेको छ ।

क्रिकेट कूटनीतिको प्रभाव ?

पाकिस्तानी खेलाडीको एनओसीसम्बन्धी विवादले क्रिकेट प्रशासनबीचको सम्बन्धबारे पनि प्रश्न उठाएको छ । क्यान र पिसिबीबीचको सम्बन्ध राम्रो नरहेको चर्चा भइरहेका बेला यस घटनालाई भारत र पाकिस्तानबीचको क्रिकेट तनावसँग जोडेर पनि हेरिएको छ । नेपाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सँग निकट रहेको र त्यसले पिसिबीको निर्णयमा प्रभाव पारेको हुन सक्ने अनुमानसमेत गरिएको छ । तर यसबारे कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन ।

भारत र पाकिस्तानबीच लामो समयदेखि राजनीतिक तनाव कायम छ । त्यसको प्रभाव क्रिकेटमा समेत देखिँदै आएको छ । दुई देशबीच नियमित द्विपक्षीय क्रिकेट शृङ्खला नहुने र बहुराष्ट्रिय प्रतियोगितामा समेत सम्बन्धित पक्षबीच विवाद देखिने गरेको छ । एसियाली क्रिकेट परिषद् (एसिसी) को नेतृत्वमा रहेका नक्भी र भारतीय क्रिकेट अधिकारीबीचको तनावका घटनाले पनि एसियाली क्रिकेटको प्रशासनिक सम्बन्धलाई चर्चामा ल्याउने गरेको छ । तर एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा पर्नुको कारण क्रिकेट कूटनीति नै हो भनेर निष्कर्ष निकाल्न मिल्दैन । पिसिबीले औपचारिक धारणा सार्वजनिक नगरेसम्म यस घटनाको वास्तविक कारण स्पष्ट हुनेछैन । क्यानले पनि सबै देशका क्रिकेट संघसँग समान र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै पाकिस्तानी खेलाडी सहभागी हुने विश्वास व्यक्त गरेको छ ।

पिसिबीले यसअघि अमेरिकाको मेजर लिग क्रिकेट (एमएलसी) मा पनि पाकिस्तानी खेलाडीको एनओसीका लागि प्रतिखेलाडी २५ हजार डलर मागिएको आरोप सार्वजनिक भएको थियो । त्यस घटनाको विवरण र एनपिएलको अहिलेको विवादबीच समानता भए पनि दुवै घटना एउटै कारणले भएका हुन् भनेर मान्न सकिँदैन ।

एनपिएलको तेस्रो संस्करणमा दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत देशका खेलाडी सहभागी हुँदैछन् । डेभिड मिलर, डेभिड वार्नर, आन्द्रे रसेल, जेम्स निसम, मोइन अली र शाकिब अल हसनजस्ता चर्चित खेलाडीको उपस्थितिले प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण बढाउने अपेक्षा छ । पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित हुँदा भने उनीहरूलाई अनुबन्ध गरेका टोलीले वैकल्पिक योजना बनाउनुपर्ने अवस्था आउन सक्छ ।

एनपिएलको विजेताले यसपटक एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । आठ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ । सोमबारदेखि २७ दिनसम्म चल्ने एनपिएलमा कुल आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्दैछन् ।

११ दिनसम्म हरेक दिन दुई खेल हुनेछन् । बाँकी १० दिन प्रत्येक दिन एक खेल तय हुँदा तेस्रो संस्करणमा कुल ३२ खेल हुनेछन् । अहिलेसम्म जनकपुर बोल्ट्सले पहिलो संस्करण र लुम्बिनी लायन्सले दोस्रो संस्करणको उपाधि जितेका थिए । सुदूरपश्चिम रोयल्स दुवै संस्करणको उपविजेता हो ।

सुदूरपश्चिमले यसपटक पाकिस्तानका पूर्वक्रिकेटर मिसबाह उल हकलाई प्रशिक्षकका रूपमा भित्र्याएको छ भने वेस्ट इन्डिजका स्टार क्रिकेटर फाबियन एलन र शेरफेन रदरफोर्डजस्ता बिग हिटरलाई अनुबन्ध गर्दै यसपटक थप बलियो बन्ने संकेत गरेको छ । दीपेन्द्रसिंह ऐरीजस्ता एसोसिएट क्रिकेटकै उत्कृष्ट अलराउन्डर रहेको सुदूरपश्चिम राम्रा विदेशी र स्वदेशी खेलाडीसहित सन्तुलित टोली बनेको छ ।

दक्षिण अफ्रिकाका डेभिड मिलर, अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, न्युजिल्यान्डका जेम्स निसम, इङ्ल्यान्डका मोइन अली र रवि बोपारा तथा वेस्ट इन्डिजका शेरफेन रदरफोर्डजस्ता परिचित नाम छन् । बंगलादेशका शाकिब अल हसन, जिम्बाब्वेका सिकन्दर राजा, पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान, हुसेन तलत, श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असालंकाले पनि यस संस्करणदेखि खेल्ने भएपछि एनपिएल नयाँ उचाइमा पुगेको छ ।

पाकिस्तानका उसामा मिर र इफ्तिखार अहमद, अमेरिकाका हरमित सिंह, शुभम रञ्जने र शेड्ली भान स्काल्कविक, क्यानडाका कलिम साना, इङ्ल्यान्डका साइफ अली जैब, न्युजिल्यान्डका स्कट कुगेलाइन, अस्ट्रेलियाका डार्सी शर्ट तथा श्रीलंकाका निरोशन डिकवेला र चमिका करुणारत्नेजस्ता खेलाडीले पनि प्रतियोगिताको आकर्षण बढाउने अपेक्षा छ ।

बंगलादेशका अरिफुल इस्लाम, मोहम्मद अकबर अली, महेदी हसन र मोहम्मद सैफुद्दिन, स्कटल्यान्डका मार्क वाट, नामिबियाका रुबेन ट्रम्पलम्यान, भारतका कोना श्रीकर भरत, श्रीलंकाका सहान अराच्चिगे र धनञ्जय लक्षण तथा न्युजिल्यान्डका ब्रान्डन म्याकमुलन पनि प्रतियोगितामा सहभागी हुँदैछन् । यी खेलाडीसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीको क्षमता पनि वृद्धि हुनेमा दुई मत छैन ।

यस्ता खेलाडीको उपस्थितिले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नजिकबाट बुझ्ने अवसर दिन्छ । त्यसैले तेस्रो संस्करण नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण बन्ने आशा गरिएको छ ।

 

Previous Post

कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

Next Post

सी जिनपिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको महत्त्वपूर्ण बैठक सुरु

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav