त्रिवि क्रिकेट मैदान क्षेत्रको सडक कालोपत्रे हुने, तीन महिनाभित्र काम सक्नुपर्ने
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासको सडक सुधारका लागि सडक डिभिजन कार्यालय काठमाडौंले बोलपत्र आह्वान गरेको छ। धुलो र हिलोका कारण खेलाडी तथा दर्शकले भोग्दै आएको समस्या समाधान गर्ने उद्देश्यले सडक स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको हो।
कार्यालयले सार्वजनिक गरेको बोलपत्रअनुसार ठेक्का सम्झौता भएको तीन महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ। नेपाल सरकारको स्रोतबाट सञ्चालन हुने योजनामा सडक चौडा गर्ने, माटो काट्ने तथा भर्ने, सडकको आधार तयार पार्ने, नाली र पर्खाल बनाउनेलगायतका काम समावेश छन्।
योजनाअन्तर्गत सडकमा आस्फाल्ट कंक्रिट प्रविधिबाट कालोपत्रे गर्नुका साथै सवारीसाधन र पैदलयात्रीको सुरक्षाका लागि आवश्यक ट्राफिक चिह्नसमेत राखिनेछ।
बोलपत्रमा सहभागी हुन निर्माण कम्पनीले आर्थिक तथा प्राविधिक योग्यता पूरा गर्नुपर्नेछ। कार्यालयका अनुसार पछिल्लो १० वर्षमध्ये उत्कृष्ट तीन वर्षको औसत वार्षिक कारोबार कम्तीमा ८ करोड ९८ लाख रुपैयाँ हुनुपर्नेछ। त्यस्तै, समान प्रकृतिको काम गरेको अनुभवका रूपमा एकल कम्पनीले कम्तीमा २ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको आयोजना सम्पन्न गरेको हुनुपर्नेछ।
यसका अतिरिक्त वार्षिक कम्तीमा ४९१ घनमिटर आस्फाल्ट कंक्रिट प्रयोग गरी काम सम्पन्न गरेको प्राविधिक अनुभव पनि आवश्यक पर्नेछ।
इच्छुक निर्माण व्यवसायीले पाँच हजार रुपैयाँ दस्तुर तिरेर बोलपत्र खरिद गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम समय कात्तिक १२ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। सोही दिन दिउँसो १ बजे सडक डिभिजन कार्यालय काठमाडौं, मीनभवनमा बोलपत्र खोलिनेछ।
बोलपत्रमा सहभागी हुन १६ लाख ४६ हजार रुपैयाँको बिड सेक्युरिटीसमेत बुझाउनुपर्नेछ। बोलपत्रसम्बन्धी जिज्ञासा समाधानका लागि कात्तिक १० गते दिउँसो १ बजे प्रि–बिड बैठक आयोजना गरिने कार्यालयले जनाएको छ।
