तीन वर्षभित्र आठ सहरमा क्रिकेट रङ्गशाला बनाउने लक्ष्य : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना अघि बढाइएको बताएका छन्। सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उनले जानकारी दिए।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा शुभकामना दिँदै मन्त्री लम्सालले कम्तीमा आठ हजार दर्शक अट्ने क्षमताका रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएका हुन्।
प्रस्तावित रङ्गशालालाई होम एन्ड अवे प्रणालीअनुसार प्रतियोगिता सञ्चालन गर्न सकिने गरी विकास गर्ने सरकारको योजना छ। यसबाट राजधानीमा मात्र सीमित नभई देशका विभिन्न सहरमा क्रिकेट प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ।
मन्त्री लम्सालले निर्धारित समयभित्र निर्माण सम्पन्न गर्न सके एनपीएललाई देशव्यापी बनाउन र नेपाली क्रिकेटको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले रङ्गशाला निर्माण योजनालाई प्रभावकारी बनाउन नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि आवश्यक तयारी अघि बढाउने अपेक्षा राखेका छन्।
