मन्त्री गौतमको भनाइ : एनपीएलमा जुनसुकै टिमले जिते पनि सफलता नेपाली क्रिकेटकै
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटप्रतिको आकर्षण र उत्साह थप बढाउने विश्वास व्यक्त गरेकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रतियोगितामा सहभागी जुनसुकै टोली विजयी भए पनि त्यसको उपलब्धि समग्र नेपाली क्रिकेटले प्राप्त गर्ने बताइन्।
मन्त्री गौतमले एनपीएललाई नेपाली खेल प्रतिभा, निजी क्षेत्रको लगानी क्षमता र राष्ट्रिय एकतालाई जोड्ने महत्त्वपूर्ण मञ्चका रूपमा व्याख्या गरिन्।
देशका विभिन्न स्थानमा रहेका प्रतिभाशाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग एउटै मैदानमा प्रतिस्पर्धा गर्ने अवसर पाउनु नेपाली क्रिकेटका लागि सकारात्मक भएको उनको भनाइ छ। यसले युवामा आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई खेल क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरिन्।
सरकारले खेलकुद विकासका लागि अनुकूल वातावरण तयार गर्न सके निजी क्षेत्रले त्यसलाई आर्थिक अवसरमा रूपान्तरण गर्न सक्ने मन्त्री गौतमले उल्लेख गरिन्। एनपीएलले खेलकुदमा निजी क्षेत्रको सहभागिता बढाउँदै प्रतिभा पहिचान र प्रवर्द्धनका लागि नयाँ सम्भावना देखाएको उनको धारणा छ।
उनका अनुसार एनपीएल केवल खेल प्रतियोगिता नभई नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन र राष्ट्रिय एकताको भावना बलियो बनाउने अवसरसमेत हो।
