इजरायलमा सम्पन्न संसदीय निर्वाचनको परिणामले इरानको विदेश नीति र सुरक्षा रणनीतिमा कुनै परिवर्तन नल्याउने इरानले जनाएको छ। तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इजरायलको चुनावी गतिविधिबारे टिप्पणी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।
बाघेईले पश्चिम एसियामा इजरायलको उपस्थितिले हिंसा र नरसंहारबाहेक अरू केही परिणाम नदिएको आरोप लगाए। प्यालेस्टिनी नागरिकमाथि इजरायलले जारी राखेको आक्रमण र इरानलाई दिँदै आएको धम्कीलाई उनले इजरायलको शत्रुतापूर्ण व्यवहारको निरन्तरताका रूपमा व्याख्या गरे।
इजरायली अधिकारीहरूले इरानले निर्वाचन प्रक्रिया प्रभावित पार्न पूर्वखाली आक्रमण गर्न सक्ने दाबी गरेका थिए। तर बाघेईले उक्त आरोप अस्वीकार गरे। इजरायलले आफैँ घटना गराएर त्यसको दोष अरूमाथि थोपर्ने ‘फल्स फ्ल्याग’ गतिविधि गर्ने गरेको आरोप लगाउँदै उनले इरानमाथि लगाइएका दाबीलाई आधारहीन बताए।
इरानले क्षेत्रीय अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै बाघेईले आफ्नो भूभागको रक्षा गर्न इरानी सेना पूर्ण रूपमा तयार रहेको बताए। इरान अहिले युद्धको अवस्थामा रहेको र आत्मरक्षाका लागि आवश्यक जुनसुकै कदम चाल्न तयार रहेको उनले दोहोर्याए।
यसअघि गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानका विभिन्न सहरमा संयुक्त सैन्य आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल तथा क्षेत्रका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो।
