सरकारले रसुवा बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन तथा अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ।
सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावासहरूसँग समन्वय गरी प्रभावित विदेशी नागरिकको अवस्थाबारे तथ्यांक अद्यावधिक भइरहेको जानकारी दिए।
प्रवक्ता पौडेल क्षेत्रीका अनुसार सरकारले विपद्पछिको उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक प्राविधिक सहयोग माग गरेको छ।
सुरुङमार्गमा हुनसक्ने उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली, पुरिएका शव फेला पार्न आईएसएआरजस्ता आधुनिक प्रविधि तथा शव सुरक्षित राख्न थप फ्रिजर आवश्यक रहेको उनले जानकारी दिए।
केही फ्रिजर प्राप्त भइसकेको र थप केही आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। मृतकको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षणका उपकरण तथा आवश्यक किट्ससहितको प्राविधिक सहयोगसमेत अन्तर्राष्ट्रिय समुदायसँग माग गरिएको छ।
राहत वितरणका लागि आवश्यक केही सामग्रीको समेत आवश्यकता रहेको मन्त्रालयले जनाएको छ। दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भने ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ सम्पन्न भएपछि आवश्यक सहयोगको खाका तय गरिने प्रवक्ता क्षेत्रीले स्पष्ट पारे।
