जनकपुरधाम, १० कात्तिक । धनुषाका एसपी रूपेश खड्काले रास्वपा धनुषा सभापति लक्ष्मेश्वर यादवले वैवाहिक सम्बन्ध विच्छेद गराइदिन दबाब दिएको आरोप लगाएका छन् ।
एक सार्वजनिक कार्यक्रममा रास्वपा सभापति यादवले प्रहरी कार्यालय र कार्यालय प्रमुखविरुद्ध आपत्तिजनक, भ्रमपूर्ण तथा अपरिपक्व टिप्पणी गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको एसपी खड्काले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जारी विज्ञप्तिमा धनुषाको हंसपुर नगरपालिका वडा नं. ८, भतही टोल बस्ने रास्वपा धनुषा सभापति ५६ वर्षीय लक्ष्मेश्वर यादवले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार यादवकी एक पारिवारिक महिला सदस्य हराएको भन्दै २०८३/०७/१७ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दर्ता गराइएको थियो । प्रहरीको अनुसन्धानबाट ती महिला नभई काठमाडौं जिल्ला अदालतबाट २०८३/०७/०८ गते नै विवाहको कानुनी वैधता कायम गरी २०८३/०७/१४ गते आफ्नो पतिसँग गएको खुल्न आएको थियो ।
प्रहरीले निवेदक पक्ष र परिवारका अन्य सदस्यलाई महिलासँग प्रत्यक्ष कुराकानी गराउनुका साथै विवाहका प्रमाणहरू समेत देखाएर वास्तविक अवस्थाबारे जानकारी गराएको थियो । तर, आफ्नो मञ्जुरीविना विवाह गरेको भन्दै निज लक्ष्मेश्वर यादवले “पक्राउ गरी जबरजस्ती छुटाउनुपर्ने” माग गर्दै पदको दुरुपयोग गरी अनुचित दबाब दिएको र प्रहरीले गैरकानुनी कार्य गर्न इन्कार गर्दा कार्यालय घेर्ने धम्की दिएको प्रहरीको दाबी छ ।
विज्ञप्तिमा भनिएको छ, “कानुनी कार्य गर्न इन्कार गरेको प्रतिशोधस्वरूप ममाथि सान्दर्भिक, अनर्गल र तथ्यहीन आरोप लगाएको स्पष्ट छ।” गरिमामय नेपाल प्रहरी संगठनमा पूर्ण व्यावसायिकताका साथ सेवा गरिरहेको बेला संगठन र व्यक्तिगत मर्यादामा आँच आउने गरी लगाइएका मनगढन्ते र द्वेषपूर्ण आरोपहरूको कार्यालयले घोर निन्दा र भर्त्सना गरेको छ ।
कानुनी उपचारमा जाने चेतावनी
विज्ञप्तिमार्फत एसपी खड्काले आफूमाथि लगाइएका आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । साथै, कोही पनि व्यक्ति भ्रममा नपर्न, अनावश्यक भ्युजको लोभमा सामाजिक सञ्जालमा जथाभावी सेयर नगर्न अनुरोध गर्दै यससम्बन्धी अविलम्ब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।
आइतबार जनकपुरधाममा रास्वपाद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा सभापति यादवले एसपी खड्का एक नम्बर घुसखोर र दलाल रहेको आरोप लगाउँदै उनको सरुवाको माग गरेका थिए । उनले सीमावर्ती क्षेत्रदेखि मालपोत र सीडीओ कार्यालय लगायतका कार्यालयबाट खड्काले घुस लिइरहेको भन्दै कार्यक्रममा उपस्थित चारवटै सांसदसँग माग गरेका थिए ।
स्रोतका अनुसार सभापति यादवकी छोरीले गत वैशाख महिनामा काठमाडौंमा हंसपुर नगरपालिका–८ का, हाल काठमाडौंमा बस्दै आएका एक युवकसँग अदालती विवाह गरेकी थिइन् । सो वैवाहिक सम्बन्ध विच्छेद गराइदिन सभापति यादवले एसपी खड्कालाई दबाब दिँदै आएका छन् ।
