रसुवा बाढीमा सरकारको खोज, उद्धार र राहत प्रभावकारी भएन : ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै अध्यक्ष ओलीले सरकारको विपद् व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा मन्त्रीहरूलाई लक्षित गर्दै केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने गरेको टिप्पणी गरे।
विपद्पछि केन्द्रीय सरकारको उपस्थिति नै खोज्नुपर्ने अवस्था आएको उनको भनाइ छ। घरको छतमा फसेका व्यक्तिहरूलाई हेलिकप्टरबाट उद्धार गर्नेबाहेक सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको ओलीले टिप्पणी गरे।
निजी क्षेत्रका हेलिकप्टरलाई उद्धार कार्यमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। उद्धारका लागि तालिम प्राप्त जनशक्ति तथा हेलिकप्टर भएका निजी क्षेत्रलाई समेत परिचालन गर्न सके विपद् प्रभावित क्षेत्रमा थप प्रभावकारी उद्धार गर्न सकिने ओलीको धारणा छ।
सुरुङभित्र तथा अन्य जोखिमयुक्त क्षेत्रमा हेलिकप्टरबाट उद्धार सम्भव नहुने उल्लेख गर्दै ओलीले त्यस्ता क्षेत्रमा दक्ष जनशक्ति र आवश्यक उपकरणमार्फत उद्धार गर्नुपर्नेमा जोड दिए।
स्थानीय बासिन्दाले आफ्ना आफन्तको खोजी गर्न अनुमति मागिरहे पनि सरकारले त्यसका लागि अनुमति नदिएको भन्दै उनले आपत्ति जनाए।
ओलीले विपद् प्रभावित क्षेत्रमा एमालेका नेता तथा कार्यकर्ता र स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिहरू खटिएर राहत तथा उद्धारमा काम गरिरहेको दाबी गरे। पार्टीका नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूले स्थानीयस्तरमा पीडितलाई सहयोग गर्दै समस्या समाधानका लागि काम गरिरहेको उनको भनाइ छ।
