एनपीएल खेल्न नेपाल आएका फरहानलाई पाकिस्तान क्रिकेट बोर्डले तत्काल बोलाए पनि प्लेइङ–११ मा राखेन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान श्रीलंकाविरुद्धको खेलमा प्लेइङ–११ मा पर्न सकेनन्। एकदिवसीय टोलीमा समावेश गर्दै नेपालबाट बोलाइएका उनलाई पाकिस्तानले बेन्चमा राखेको छ।
फरहान चार दिनअघि एनपीएल खेल्न नेपाल आएका थिए। उनी कर्णाली याक्समा आबद्ध छन्। तर पाकिस्तान क्रिकेट बोर्डले घरेलु मैदानमा जारी श्रीलंका र इंग्ल्यान्ड सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि उनलाई टोलीमा समेटेपछि उनको नेपाल बसाइ छोटिएको हो।
यसअघि टोलीमा रहेका ओपनर साइम अयुबलाई हटाएर फरहानलाई समावेश गरिएको थियो। त्यसपछि बोर्डले उनलाई इमेलमार्फत तत्काल पाकिस्तान फर्किन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार फरहान एनपीएलमा खेल्न नपाउँदै सोमबार पाकिस्तान फर्किएका थिए।
नेपालबाट फर्किएपछि श्रीलंकाविरुद्धको खेलमा उनले ओपनिङ गर्ने अपेक्षा गरिएको थियो। तर पाकिस्तानले उनलाई अन्तिम ११ खेलाडीमा समावेश गरेन।
पाकिस्तानले खेलमा माज सदाकत र फखर जमानलाई ओपनरका रूपमा मैदानमा उतारेको छ। दुवै ब्याटर सस्तैमा आउट भएपछि पहिलो ब्याटिङ गरिरहेको पाकिस्तान दबाबमा परेको छ।
