साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले छाडे सरकारी सेवा
राजीनामा दिनेमा २०७ राजपत्राङ्कित र २५७ राजपत्र अनङ्कित कर्मचारी, सबैको राजीनामा स्वीकृत
काठमाडौँ । चालु आर्थिक वर्ष सुरु भएयता ४ सचिवसहित ४६४ जना निजामती कर्मचारीले सरकारी सेवाबाट राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती)का अनुसार गत साउन १ गतेदेखि हालसम्म विभिन्न तहका कर्मचारीले पद त्यागेका हुन्।
किताबखानाका निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी छन्।
राजपत्राङ्किततर्फ राजीनामा दिनेमा ४ सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृत रहेका छन्। त्यस्तै, राजपत्र अनङ्किततर्फ १३७ जना खरदार तथा नायब सुब्बा तहका र १२० जना श्रेणीविहीन कर्मचारीले सेवा छाडेका छन्।
सरकारले प्रतिनिधिसभामा दर्ता गराएको निजामती कर्मचारीसम्बन्धी विधेयकमा सेवा अवधि ३० वर्ष पुगेका वा उमेर ५५ वर्ष भएका कर्मचारीले विधेयक कार्यान्वयनमा आउँदा पहिलोपटक राजीनामा दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। उक्त प्रावधानका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढेको बताइएको छ।
यद्यपि, राजीनामा बुझाउने कर्मचारीहरूले पत्रमा व्यक्तिगत वा घरायसी कारण उल्लेख गरेको किताबखानाले जनाएको छ। किताबखानाका अनुसार राजीनामा दिएका सबै कर्मचारीको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ।
