पर्यटनमन्त्रीको पुत्ला दहन प्रकरणमा पक्राउ परेका खान र वाजिउद्दिन मुसलमान प्रहरीबाट मुक्त
रुपन्देही । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी डोल्मा नियुक्त भएपछि विरोधमा उत्रिएका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान रिहा भएका छन्। पर्यटनमन्त्रीको पुत्ला दहन गरेको घटनामा प्रहरीले नियन्त्रणमा लिएका खानलाई केही समयपछि छाडिएको हो।
खानका अनुसार प्रहरीले उनलाई राति करिब साढे १० बजे प्रसाद चोकबाट नियन्त्रणमा लिएको थियो। उनी होटलतर्फ जाँदै गर्दा आफूलाई प्रहरीले रोकेको र आफूसँग पाहुना रहेकाले पछि छलफल गर्ने आग्रह गर्दासमेत जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्याइएको उनले दाबी गरेका छन्।
लुम्बिनी पुर्याएपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई हिरासतमा राखिएको खानले बताएका छन्। भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा आफ्नो भाइ फकरुद्दिन खानको जिम्मा लगाएर प्रहरीले रिहा गरेको उनले जानकारी दिए।
खानका अनुसार छलफलका क्रममा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरुद्ध गर्ने तथा पुत्ला दहनजस्ता गतिविधि नगर्न र आफ्ना माग शान्तिपूर्ण तरिकाले राख्न सुझाव दिएको थियो।
लुम्बिनीको हितका लागि अभियान जारी रहने
पत्रकारहरूसँग कुरा गर्दै खानले लुम्बिनीको संरक्षण, विकास र स्थानीयवासीको अधिकारका विषयमा आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताए। यस क्रममा विभिन्न चरणमा विरोध प्रदर्शन, पत्रकार सम्मेलन र सभा आयोजना गर्नुका साथै सम्बन्धित मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्र बुझाइएको उनको भनाइ छ।
पर्यटनमन्त्रीको पुत्ला दहनलाई उनले सरकारको कार्यशैलीप्रति रहेको असन्तुष्टि र आक्रोशको अभिव्यक्तिका रूपमा व्याख्या गरेका छन्। लुम्बिनीको विकास र संरक्षणमा सरकार गम्भीर हुनुपर्ने तथा स्थानीयको हितलाई प्राथमिकता दिनुपर्ने उनले माग गरे।
कानुनी राज्यको सम्मान गर्दै अभियानलाई निरन्तरता दिने बताउँदै खानले आफूहरू लुम्बिनीवासीको हकहितका लागि पछि नहट्ने स्पष्ट पारे। आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न आफूहरू तयार रहेको पनि उनले बताए।
खानले आफूलाई फोन गरेर बोलाइएको भए स्वेच्छाले उपस्थित हुने धारणा राख्दै लुम्बिनीलाई राजनीतिक स्वार्थको विषय बनाउन नहुने बताए। यस क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व जोगाउन सरकार तथा सम्बन्धित निकायले रचनात्मक पहल गर्नुपर्ने उनको आग्रह छ।
यस घटनामा सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गरेको र सार्वजनिक शान्ति सुव्यवस्थामा असर पुर्याएको आरोपमा पक्राउ परेका अर्का व्यक्ति वाजिउद्दिन मुसलमानलाई पनि प्रहरीले रिहा गरेको छ।
