सरकार प्रचारमा सीमित भएको आरोप, सीमा विवादमा दलहरू राष्ट्रिय हितका पक्षमा एक हुनुपर्नेमा जोड
काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै परिणाम देखिने कामभन्दा प्रचारलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारका उपलब्धिको मूल्याङ्कन सामाजिक सञ्जालमा देखिने चर्चाका आधारमा नभई वास्तविक काम र परिणामबाट हुनुपर्ने बताए।
सरकारको पछिल्लो ६–७ महिनाको कार्यसम्पादनबारे टिप्पणी गर्दै राईले जनताले प्रत्यक्ष अनुभूति गर्ने उपलब्धि हासिल गर्न सरकार केन्द्रित हुनुपर्ने धारणा राखे। उनका अनुसार सामाजिक सञ्जालको लोकप्रियता र त्यसको एल्गोरिदमलाई सरकारी कामको सफलताको मापदण्ड बनाउन मिल्दैन।
छिमेकी मुलुकसँगको सम्बन्धबारे बोल्दै राईले कुनै राजनीतिक दल स्थापित हुन विदेशी शक्तिसामु झुक्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए। नेपालले पञ्चशीलका सिद्धान्त र बुद्धका विचारलाई आधार बनाएर सबै राष्ट्रसँग सन्तुलित तथा मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो। तर, मैत्रीपूर्ण सम्बन्धको नाममा राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामा सम्झौता गर्न नहुने उनले स्पष्ट पारे।
प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्ति र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भनाइप्रति असहमति जनाउँदै राईले यसबारे संसद्मा प्रश्न उठाउने बताए। सीमा तथा राष्ट्रिय हितसँग जोडिएका विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच साझा धारणा बन्नुपर्ने उनको जोड थियो। राष्ट्रियताको पक्षमा आवाज उठाउनु कुनै मुलुकको विरोध गर्नु नभएको उनले उल्लेख गरे।
राईले सामाजिक सञ्जाल र साइबर समूहको प्रयोग गरी फरक विचार राख्ने व्यक्तिमाथि चरित्रहत्या गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे। राजनीतिक आस्थाका आधारमा कसैको विचारलाई दबाउनेभन्दा तथ्य र तर्कका आधारमा बहस गर्नुपर्ने उनको भनाइ थियो।
युवाहरूलाई सम्बोधन गर्दै उनले कुनै पनि राजनीतिक दलको अन्धसमर्थक नबनी राष्ट्रिय हित र सार्वभौमिकताका विषयमा सचेत रहन आग्रह गरे। देशको स्वाधीनता र हितसँग सम्बन्धित सवालमा दलगत स्वार्थभन्दा माथि उठेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
