बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि चितवन राइनोजले नाटकीय जितसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुखद् सुरुवात गरेको छ।
कीर्तिपुरमा मंगलबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्समाथि ८ रनको रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो। जितको संघारमा पुगेको विराटनगरबाट चितवनले बलिङकै भरमा जित खोसेको हो।
२५ बलमा २६ रन आवश्यक हुँदा पाँच विकेट हातमा रहेको विराटनगर जित निकाल्न असफल रह्यो। वेस्ट इन्डिजका आन्द्रे रसेलले अलराउन्ड प्रदर्शन गरे पनि विराटनगरलाई जित दिलाउन सकेनन्। त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। यस क्रममा चितवनका बलरले उत्कृष्ट पुनरागमन गरे। नियमित कप्तान कुशल मल्लको स्थानमा नेतृत्व गरेका रवि बोपाराले चितवनलाई जित दिलाए।
मध्यम लक्ष्य पछ्याएको विराटनगरले आक्रामक सुरुवात गरेको थियो। ओपनर लोकेश बम र इमरानले टोलीलाई आक्रामक सुरुवात दिलाए। तर पाँचौँ ओभरमा लोकेश २४ रनमा आउट भए। उनले १४ बलमा चार चौका र एक छक्का प्रहार गरे। त्यसपछि आएका चारित असालंका ८ रनमै आउट भए।
७.५ ओभरमा विराटनगर ६५/२ को स्थितिमा थियो। दुई ओभरपछि इमरान पनि ३९ रनमा पभेलियन फर्किए। लगत्तै अर्को ओभरमा बसिर अहमद १३ रनमा आउट भए। चार विकेट गुमाएर ८९ रन जोडेको विराटनगर दबाबमा पर्यो। तर रसेलले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जिततर्फ अघि बढाए। उनले पाँचौँ विकेटका लागि एन्जेलो म्याथ्युजसँग ४३ रनको साझेदारी गरे।
१६औँ ओभरमा कमलसिंह ऐरीले रसेललाई देव खनालबाट क्याच गराउँदै ठूलो सफलता दिलाए। रसेल ३३ रनमा आउट भए। उनले १७ बलमा एक चौका र चार छक्का प्रहार गरे। उनी पभेलियन फर्किँदा १५.५ ओभरमा विराटनगर १३२/५ को अवस्थामा थियो।
त्यतिबेला विराटनगर जितनजिक देखिएको थियो। टोलीलाई २५ बलमा २६ रन आवश्यक हुँदा पाँच विकेट हातमा थिए। तर त्यसपछिका ब्याटरले सम्हालिएर खेल्न सकेनन्। खातामा थप १७ रन जोड्दा विराटनगरका पाँच ब्याटर आउट भए। यससँगै विराटनगरले अप्रत्याशित हार बेहोर्यो।
एन्जेलो म्याथ्युज १४ रन र शुभम रञ्जाने १० रनमा आउट भए। रूपेश सिंह, प्रतीश जिसी र कप्तान सन्दीप लामिछानेले खाता खोल्न सकेनन्।
चितवनका बलरले उत्कृष्ट पुनरागमन गर्दै तीन बल अगावै जित सुरक्षित गरे। कमलसिंह ऐरीले चार विकेट लिँदा रिजन ढकालले दुई तथा टोम टेलर, रञ्जित कुमार, डान मौस्ले र मौसम ढकालले समान एक विकेट लिए। बलिङ गरेका सबै बलर विकेट लिन सफल भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले आक्रामक सुरुवात गरे पनि ठूलो योगफल बनाउन सकेन। निर्धारित २० ओभरमा तीन विकेट गुमाएर चितवनले १५७ रनको योगफल बनाएको थियो। पावरप्लेमा चितवनले विकेट नगुमाई ५० रन जोडेको थियो।
यस क्रममा इंग्लिस ब्याटर डेविड मालनले आक्रामक ब्याटिङ गरे। ७.६ ओभरमा ओपनर देव खनाल १२ रनमा आउट भए। उनी र मालनबीच पहिलो विकेटका लागि ५८ रनको साझेदारी भएको थियो।
एक छेउबाट मालनले रन बनाइरहँदा अर्को छेउबाट चितवनले विकेट गुमायो। त्यसपछि आएका विकेटकिपर अर्जुन साउद ३ रनमै पभेलियन फर्किए। १०.६ ओभरमा चितवन ७९/२ को अवस्थामा थियो।
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले १३औँ ओभरमा मालनलाई बोल्ड गर्दै विराटनगरलाई ठूलो सफलता दिलाए। मालनले ५० बलमा ७० रन बनाए। उनको इनिङ्समा पाँच चौका र पाँच छक्का समावेश थिए।
मालन आउट भएपछि चितवनले सम्हालिएर खेल्यो। कप्तान रवि बोपारा ३२ र डान मौस्ले २९ रनमा अविजित रहे। यी दुईले चौथो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे। विराटनगरले अतिरिक्त ११ रन खर्चिँदा चितवनलाई थप रन बनाउन सहयोग पुग्यो।
विराटनगरको बलिङमा एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चारित असालंकाले समान एक विकेट लिए। विराटनगरका सात बलरले बलिङ गरे पनि कप्तान सन्दीप लामिछानेसहित अन्य बलर विकेटविहीन रहे।
