११ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले भन्सार छली गरेर भारतबाट ल्याइएका सुर्ती तथा किराना सामानसहित पिकअप जिप बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जिपका चालकलाई समेत पक्राउ गरेको छ।
मंगलबार साँझ धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकमा शंकाका आधारमा जाँच गर्ने क्रममा प्रहरीले सामान बरामद गरेको हो। गोदावरी नगरपालिका–६ का ३३ वर्षीय सुरेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ३०२३ नम्बरको पिकअप जिपमा भन्सार छली गरी ल्याइएका सुर्ती तथा किराना सामान फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सामान र पिकअप जिपको कुल अनुमानित मूल्य ९ लाख ६८ हजार ७६९ रुपैयाँ रहेको छ।
बरामद सामान तथा पिकअप जिपलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
