- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले बिहीबार शपथ लिने भएका छन्।
- दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति गगन थापाले शपथ गराउने कार्यक्रम तय भएको छ।
- शपथपछि अनौपचारिक बैठक बस्ने तयारी छ भने सभापतिले मनोनीत गर्ने सदस्य चयन गरेपछि औपचारिक बैठक आयोजना गरिनेछ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण बिहीबार हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा सभापति गगन थापाले निर्वाचित पदाधिकारी र सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ।
केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार निर्वाचन समितिको उपस्थितिमा शपथ ग्रहण कार्यक्रम सञ्चालन हुनेछ।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो। कांग्रेसको विधानमा केन्द्रीय समिति २९७ सदस्यीय हुने व्यवस्था छ। बाँकी ६६ सदस्य सभापतिले मनोनयन गर्न पाउने प्रावधान छ।
सभापति थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। केन्द्रीय सदस्यमा निर्वाचित विनीता खड्कालाई प्रमाणपत्र नदिने निर्णय निर्वाचन समितिले गरेपछि बिहीबार २२९ जनाले शपथ लिने जनाइएको छ।
शपथपछि अनौपचारिक बैठकको तयारी
नवनिर्वाचित पदाधिकारी तथा सदस्यले शपथ लिएलगत्तै अनौपचारिक केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी गरिएको छ।
कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले शपथ ग्रहणपछि बैठक बस्ने जानकारी दिएका छन्। उनका अनुसार प्रारम्भिक छलफल अनौपचारिक रूपमा हुनेछ।
मनोनयनपछि औपचारिक बैठक
सभापति थापाले आफूले मनोनयन गर्न पाउने सदस्यहरूको चयन गरेपछि मात्रै औपचारिक केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेका छन्। विधानअनुसार उनले ६६ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ।
त्यसैगरी, महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार चार सहमहामन्त्री र एक कोषाध्यक्ष पनि सभापतिले मनोनयन गर्न सक्ने व्यवस्था गरिएको नेताहरूले बताएका छन्। यी पदमा मनोनीत हुने व्यक्ति केन्द्रीय सदस्य हुनुपर्ने प्रावधानसमेत रहेको बताइएको छ। यद्यपि, संशोधित विधान औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन।
कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापाले पहिलो चरणमा अघिल्लो केन्द्रीय कार्यसमितिमा रहेका तथा निर्वाचनमा उम्मेदवारी नदिएका केही वरिष्ठ नेतालाई समेट्ने विषयमा छलफल गरिरहेका छन्। पदाधिकारीका लागि प्रतिस्पर्धा गरेर पराजित भएका केही नेतासमेत केन्द्रीय सदस्यमा मनोनीत हुन सक्ने सम्भावना छ।
स्रोतका अनुसार ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, राजन केसी, चिनकाजी श्रेष्ठ, मीन विश्वकर्मा, देवराज चालिसे, सुधीर सिवाकोटी, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, भरतबहादुर खड्का र ईश्वरी न्यौपानेसहितका नेताको नाम सम्भावित मनोनयनका विषयमा चर्चामा छ।
कार्कीले महाधिवेशनअघि उपसभापति वा महामन्त्री पदमा दाबी गरे पनि अन्ततः कुनै पदमा उम्मेदवारी दिएका थिएनन्। चालिसे विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए। उनले १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए।
विश्वकर्मा, रिजाल, श्रेष्ठ, न्यौपाने र बडूले महाधिवेशनको पक्षमा अन्तिम समयमा समर्थन जनाएका थिए। न्यौपानेले महिला सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरे पनि पछि आफ्नो दाबी फिर्ता लिएकी थिइन्।
डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भरतबहादुर खड्का अहिले सार्वजनिक लेखा समितिको सभापति छन्।
कांग्रेस विधानअनुसार सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्की र प्रतिनिधिसभामा पार्टीका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पदेन केन्द्रीय सदस्य रहने व्यवस्था छ। त्यस्तै, सातै प्रदेशका सभापति पनि पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहनेछन्।
