तेजन खड्का/न्युज कारखाना
मोरङ, ११ कात्तिक । मृत्यु भएको ठानेर काजकिरिया गरिसकेका मोरङको लेटाङका एक व्यक्ति करिब ६ महिनापछि जिउँदै घर फर्किएका छन् । मृतक ठानेर अन्त्येष्टिसमेत गरिसकिएका व्यक्ति अचानक घर आइपुगेपछि परिवार, आफन्त र छिमेकी आश्चर्यचकित भएका छन् ।
प्राप्त विवरणअनुसार करिब ३७ वर्षीय ती व्यक्ति गत माघदेखि सम्पर्कविहीन थिए । सुनसरीको चकरघट्टिमा भएको सवारी दुर्घटनामा मृत्यु भएको ठानेर परिवारले गत जेठमा उनको काजकिरिया गरेको थियो । दुर्घटनापछि शव घर ल्याएर चिसाङ खोलामा दाहसंस्कारसमेत गरिएको थियो ।
परिवारका अनुसार, शवको अनुहार र शारीरिक बनावट मिल्दोजुल्दो देखिएपछि आफूहरूले त्यसलाई आफन्तकै शव ठानेका थिए । त्यसपछि सामाजिक तथा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो । तर, करिब ६ महिनापछि ती व्यक्ति नै जिउँदै घर फर्किएपछि परिवारमा अनौठो परिस्थिति सिर्जना भएको छ ।
घर फर्किएपछि परिवारले धार्मिक परम्परा र चलनअनुसार सोमबार राति जन्म, न्वारान तथा व्रतबन्धसम्बन्धी कर्म पूरा गरेर उनलाई घरभित्र्याएको बताएको छ । पारिवारिक स्रोतका अनुसार, घर छाडेपछि ती व्यक्ति भारतको आसाम क्षेत्रमा बस्दै आएका थिए । उनी हालै त्यहीँबाट फर्किएको बताइएको छ ।
परिवारको आग्रहमा तत्कालका लागि उनको परिचय गोप्य राखिएको छ । घटनाबारे विस्तृत विवरण सार्वजनिक नभएकाले दुर्घटनामा मृत्यु भएको भनिएको व्यक्तिको शव कसको थियो भन्ने विषयसमेत स्पष्ट हुन सकेको छैन ।
