- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनका लागि संगठनात्मक गतिविधि तीव्र बनाएको छ।
- तल्लो तहका अधिवेशन सम्पन्न गर्दै जिल्ला अधिवेशनको तयारी भइरहेको नेता गुरु बरालले बताएका छन्।
- संस्थापन पक्षमा निर्वाचनमा पराजित भएका तथा असन्तुष्ट नेता–कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउने रणनीति देउवा समूहले बनाएको छ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भइसकेपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी अघि बढाएको छ। निर्धारित कार्यतालिकाअनुसार छुट्टै महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित संगठनात्मक गतिविधि तीव्र पारिएको उक्त समूहका नेताहरूले बताएका छन्।
देउवा पक्षका नेता गुरु बरालका अनुसार बाढीपहिरोलगायतका कारण प्रारम्भिक कार्यतालिकामा केही ढिलाइ भए पनि महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने गरी काम भइरहेको छ।
उनले अधिकांश जिल्लामा तल्लो तहका अधिवेशन सम्पन्न भइसकेको र अहिले जिल्ला अधिवेशनको प्रक्रिया अघि बढिरहेको जानकारी दिए। केही जिल्लामा नयाँ नेतृत्वसमेत चयन भइसकेको उनले बताए।
बरालका अनुसार अधिकांश जिल्लाले १५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेका छन्। आफ्नो पक्षको महाधिवेशनमा नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको उनको दाबी छ।
समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने योजना छ।
तल्लो तहका केही अधिवेशनमा ढिलाइ भए पनि केन्द्रीय महाधिवेशनको मिति परिवर्तन गर्ने अवस्था नरहेको बरालले बताए। त्यसैले तोकिएको समयभित्रै प्रक्रिया पूरा गर्न तयारीलाई तीव्र बनाइएको उनको भनाइ छ।
पार्टीको सानेपास्थित केन्द्रीय नेतृत्वले एकपक्षीय रूपमा महाधिवेशन गरेको आरोप लगाउँदै देउवा पक्षले आफ्नो छुट्टै महाधिवेशनको योजना अघि बढाएको हो। बरालले सहमति हुन नसकेपछि समानान्तर महाधिवेशनको तयारीबाट पछि हट्ने अवस्था नरहेको स्पष्ट पारे।
देउवा समूहका अनुसार हालसम्म देशभरका ६ हजार १०० वडा, ४९७ पालिका र ११६ क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले विभिन्न जिल्लामा अधिवेशन प्रक्रिया जारी रहेको बरालले बताए। एउटा मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा पनि अधिवेशन सञ्चालन भइरहेको उनको भनाइ छ।
यसैबीच, देउवा पक्षले संस्थापन पक्षको निर्वाचनमा पराजित भएका तथा नेतृत्वसँग असन्तुष्ट रहेका नेता–कार्यकर्तालाई आफ्नो समूहमा समेट्ने रणनीति बनाएको छ। संगठन विस्तार र थप समर्थन जुटाउने प्रयाससँगै समानान्तर महाधिवेशनको तयारी अघि बढाइएको देखिन्छ।
