भद्रपुर । तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई समयअगावै फुलेका फूल सुरक्षित राख्ने चिन्ता थपिएको छ। चाडपर्वका लागि बजारमा पुर्याउनुपर्ने फूल चाँडै फुलेपछि किसानले टिपेर शीतभण्डारमा राख्न थालेका छन्।
तिहार आउन करिब दुई साता बाँकी रहँदै फूल फुल्न थालेपछि किसानले यसको गुणस्तर कायम राख्न विशेष सावधानी अपनाइरहेका छन्। वर्षाका कारण फूल बिग्रने, कालो हुने र बजारमा बिक्री गर्न समस्या हुने जोखिम रहेकाले टिप्ने, माला उन्ने र भण्डारण गर्ने कामलाई तीव्रता दिइएको छ।
बुद्धशान्ति–३ स्थित कृषि कम्पासका व्यवस्थापक विनोद रिजालका अनुसार तीन दिनको अन्तरालमा फूल टिप्ने गरिएको छ। टिपिएका फूललाई सुरक्षित राख्न बिर्तामोडस्थित रोयल कोल्डस्टोरमा लैजान थालिएको उनले बताए।
फूल भण्डारणका लागि झापामा छुट्टै र उपयुक्त शीतभण्डारको व्यवस्था नहुँदा उपलब्ध सुविधामै निर्भर हुनुपरेको रिजालको भनाइ छ। फूलको प्रकृतिअनुसार भण्डारण गर्न सकिने विशेष सुविधा नहुँदा किसानलाई समस्या भइरहेको उनले बताए।
अर्जुनधारा–१० स्थित मिश्र कृषि फार्मका आयुष मिश्रले पनि वर्षाका कारण फूलको गुणस्तरमा असर पर्ने जोखिम रहेको बताए। पानी परेपछि सयपत्री फूल कालो हुने सम्भावना भएकाले समयमै टिपेर माला उन्ने र कोल्डस्टोरमा राख्ने गरिएको उनले जानकारी दिए।
झापामा यस वर्ष कनकाईमाईपूर्व मात्रै १६ बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ। बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत स्थानमा किसान तथा विभिन्न समूहले तिहारलाई लक्षित गरेर व्यावसायिक फूल उत्पादन गरिरहेका छन्।
स्वदेशी फूललाई प्राथमिकता दिन किसानको माग
फूल भण्डारणको समस्यासँगै उत्पादनले उचित बजार पाउने विषयले पनि किसानलाई पिरोलेको छ। भारतबाट आयात हुने फूलका कारण नेपाली किसानले उत्पादन गरेको सयपत्री बिक्री नहुने र लगानी डुब्ने जोखिम रहेको उनीहरूको गुनासो छ।
यसै विषयलाई लिएर बिर्तामोडकी कृषक शुष्मा पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको छ।
किसानले स्थानीय बजारमा स्वदेशमै उत्पादित सयपत्री फूललाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्। साथै, भारतबाट हुने अनधिकृत फूल आयात नियन्त्रण गरी नेपाली किसानको उत्पादनलाई बजार सुनिश्चित गर्न उनीहरूले आग्रह गरेका छन्।
उत्पादन समयमै सुरक्षित राख्न आवश्यक भण्डारण सुविधा र बजारको उचित व्यवस्था हुन सके तिहारका लागि गरिएको लगानी जोगाउन सहज हुने किसानको अपेक्षा छ।
