बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवातको प्रभावले कात्तिक १२, १३ र १४ गते नेपालका अधिकांश प्रदेशमा भारी वर्षा, हावाहुरी तथा हिमपातको जोखिम रहेको भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार चक्रवातको प्रभावले चट्याङसहित भारी वर्षा र हावाहुरी हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत जोखिम रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।
सम्भावित प्रतिकूल मौसमबाट धानबालीमा क्षति पुग्न सक्ने भएकाले कात्तिक १२ गते बिहीबारअघि नै धान काट्ने तथा भित्र्याउनेलगायत कृषि कार्य सम्पन्न गर्न प्राधिकरणले आग्रह गरेको छ ।
त्यसैगरी, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र उक्त क्षेत्रमा पुगिसकेका पर्यटकलाई जोखिम अवधिभर सुरक्षित स्थानमा बस्न भनिएको छ ।
खराब मौसमका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि प्राधिकरणले अनुरोध गरेको छ । आवश्यक परेमा सवारी आवागमन बन्द गर्न र त्यसअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय र स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा सर्वसाधारणलाई जोखिमबारे सचेत गराउन निर्देशन दिएको छ ।
जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पूर्वसूचनाका आधारमा विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत आग्रह गरिएको छ । प्राधिकरणले नेपाल मौसम विज्ञान विभागलगायत आधिकारिक निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान तथा चेतावनी पालना गर्न र सम्भावित जोखिमबाट बच्न सबैलाई आग्रह गरेको छ ।
