काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण र पदबहालीपछि बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ।
कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार शपथग्रहण सम्पन्न भएलगत्तै नयाँ केन्द्रीय समितिको बैठक सुरु हुनेछ। बैठकमा सभापतिले समसामयिक राजनीतिक तथा पार्टीका विषयमा धारणा राख्नेछन्।
स्नेहीले पहिलो बैठकलाई प्रारम्भिक छलफलमा सीमित राखिने जानकारी दिएका छन्। उनका अनुसार बैठकमा सभापतिको ब्रिफिङबाहेक अन्य विस्तृत एजेन्डामा प्रवेश गरिने छैन।
महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा पनि बैठकले निर्णय गर्ने तयारी छ।
कांग्रेसको विधानअनुसार सभापतिले चार सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने व्यवस्था छ। तर, पहिलो बैठकबाट यी पद तथा सदस्यको मनोनयनसम्बन्धी निर्णय नहुने सहमहामन्त्री स्नेहीले स्पष्ट पारेका छन्।
नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेसँगै बस्न लागेको पहिलो बैठकलाई पार्टीको आगामी कार्यदिशा र संगठनात्मक गतिविधिको प्रारम्भिक छलफलका रूपमा हेरिएको छ।
