इनम सापकोटासम्बन्धी समाचारप्रति प्रहरीको आपत्ति, अनुसन्धानका विषय सार्वजनिक नगर्न आग्रह
काठमाडौं, १२ कात्तिक । बिचौलिया इनम सापकोटासँग सम्बन्धित विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति नेपाल प्रहरीले गम्भीर चासो व्यक्त गरेको छ।
अदालतमा मुद्दा विचाराधीन रहेको र प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका बेला बिहीबार नयाँ पत्रिका दैनिकलगायत केही अनलाइन सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रहरीले विज्ञप्ति जारी गरेको हो।
प्रहरी हिरासतमा रहेका सापकोटा र न्यायाधीश हरि फुयाँलबीच भएको भनिएको ह्वाट्सएप कुराकानी तथा त्यसमा प्रधानमन्त्री र प्रधानन्यायाधीशको नाम उल्लेख भएको विषयले घटनालाई थप संवेदनशील बनाएको छ। उक्त विवरण प्रहरीबाटै सञ्चारमाध्यममा पुगेको हुन सक्ने आशंकाबीच प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको हो।
प्रहरीले अनुसन्धानसँग सम्बन्धित संवेदनशील सूचना सार्वजनिक भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै मुद्दाको अनुसन्धान निष्पक्ष र गोप्य रूपमा भइरहेको दाबी गरेको छ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको वादी नेपाल सरकार, प्रतिवादी इनम सापकोटासमेत रहेको मुद्दासँग जोडी विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार तथा सामग्रीहरूमा अनुसन्धान अधिकारीलाई सूचनाको स्रोत सङ्केत गरी अनुसन्धानसँग सम्बन्धित विषयहरू सार्वजनिक गरिएको सन्दर्भमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।”
प्रहरीका अनुसार प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार मुद्दाको अनुसन्धान गोप्य रूपमा भइरहेको छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको पनि प्रहरीले स्पष्ट पारेको छ।
अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। साथै, मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री प्रकाशन वा प्रसारण गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै त्यसको आधिकारिकता पुष्टि गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीले अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना गर्न पनि सम्बन्धित पक्षलाई सचेत गराएको छ।
