काठमाडौं । बलिउड अभिनेत्री करिना कपुरको चर्चित च्याट शो ‘ह्वाट वुमन वान्ट’को नयाँ सिजनमा अभिनेता शाहिद कपुरकी पत्नी मिरा राजपुत अतिथिका रूपमा देखिने भएकी छन्। करिना र मिराबीचको संवाद सार्वजनिक भएसँगै उनीहरूको भेटले बलिउडमा चर्चा पाएको छ।
बिहीबार सार्वजनिक गरिएको कार्यक्रमको प्रोमोमा दुवैले बलिउड, पारिवारिक जीवन र आफूहरूबारे फैलिने हल्लाका विषयमा खुलेर कुराकानी गरेका छन्।
प्रोमोमा करिनाले मिरालाई आफूहरूलाई एउटै कार्यक्रममा देख्न धेरै मानिस उत्सुक रहेको बताउँछिन्। जवाफमा मिरा मुस्कुराउँदै सहमति जनाउँछिन्।
कुराकानीका क्रममा करिनाले मिरालाई आफ्नो बारेमा सुनेको सबैभन्दा रमाइलो हल्लाबारे प्रश्न गर्छिन्। मिराले आफू र शाहिद तेस्रो सन्तानको तयारीमा रहेको भन्ने खबर निराधार भएको बताउँछिन्। त्यसपछि करिनाले ठट्टा गर्दै ‘हुन पनि सक्छ नि’ भन्दा मिराले अब थप सन्तान जन्माउने योजना नरहेको स्पष्ट पार्छिन्।
संवादकै क्रममा मिराले करिनालाई बलिउड स्टार भन्दै प्रशंसा गर्छिन्। करिनाले भने आफूलाई ‘बलिउड वाइफ’ भन्न खोजेको हो कि भन्दै रमाइलो जवाफ दिन्छिन्।
मिराले श्रीमानबाट उपहार पाउन सहज होस् भनेर वर्षको सुरुमै आफूलाई मन पर्ने उपहारको सूची तयार गर्न साथीहरूलाई सुझाव दिने गरेको पनि सुनाउँछिन्। करिनाले हाँस्दै आफूले पनि यो तरिका अपनाउने प्रतिक्रिया दिन्छिन्।
कार्यक्रमको पूरा एपिसोड मिर्ची प्लस एप र यसको युट्युब च्यानलमार्फत सार्वजनिक हुने जनाइएको छ। सुटिङपछि करिनाले मिरासँग खिचिएको तस्बिर इन्स्टाग्राममा राख्दै उनलाई न्यानो र प्यारी व्यक्तित्वकी रूपमा प्रशंसा गरेकी थिइन्। मिराले पनि कार्यक्रममा निमन्त्रणा दिएको भन्दै करिनाप्रति आभार व्यक्त गरेकी छन्।
करिना र शाहिद सन् २००४ देखि २००७ सम्म प्रेम सम्बन्धमा थिए। चलचित्र ‘फिदा’को छायांकनका क्रममा नजिकिएका उनीहरूको सम्बन्ध करिब तीन वर्ष चलेको थियो।
सन् २००७ मा चलचित्र ‘जब वी मेट’को छायांकनकै क्रममा उनीहरूको सम्बन्ध टुंगिएको थियो। त्यसपछि करिना चलचित्र ‘टशन’को छायांकनका क्रममा अभिनेता सैफ अली खानसँग नजिकिएको बताइन्छ। करिनाले सन् २०१२ मा सैफसँग विवाह गरिन् भने शाहिदले सन् २०१५ मा मिरा राजपुतसँग वैवाहिक सम्बन्ध गाँसे।
करिना र सैफका दुई छोरा तैमुर र जहाँगीर छन्। शाहिद र मिराका एक छोरी मिशा र एक छोरा जैन छन्।
कुनै समय एउटै अभिनेतासँग प्रेम सम्बन्ध जोडिएका करिना र मिराबीचको आत्मीय संवादलाई अहिले दर्शकले चासोका साथ हेरिरहेका छन्।
