काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र प्रयोगबाट नेपालले हासिल गर्न सक्ने अवसर, आवश्यक पूर्वाधार तथा नीतिगत प्राथमिकताबारे बहस गर्न आगामी कात्तिक २१ गते काठमाडौंमा तेस्रो राष्ट्रिय एआई सम्मेलन आयोजना हुने भएको छ।
डिजिटल मिडिया फाउन्डेसनको आयोजनामा हुने ‘नेसनल एआई समिट २०२६’ यस वर्ष ‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ अर्थात् सम्भावनाबाट प्रगतितर्फ नेपालको एआई क्षमता विस्तार गर्ने नारासहित सञ्चालन हुनेछ।
सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत प्रविधि तथा एआई क्षेत्रका विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता, उद्यमी र विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा एआई र साइबर सुरक्षा नीतिविज्ञ निक एस्टन–हार्टले अन्तर्राष्ट्रिय मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्। उनले विश्वमा बढ्दो एआई प्रतिस्पर्धा, प्रविधिको शक्ति सीमित समूहमा केन्द्रित हुँदै गएको अवस्था र नेपालजस्ता विकासशील देशले अपनाउन सक्ने रणनीतिबारे आफ्नो धारणा राख्नेछन्।
‘द न्यु एआई ल्यान्डस्केप : ग्लोबल सिफ्ट्स, नेपाल्स स्ट्राटेजिक च्वाइसेस’ शीर्षकको अन्तर्राष्ट्रिय सत्रमा बेलायतको युनिभर्सिटी अफ योर्कका पूर्वप्राध्यापक तथा वाइजयाकका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. सुरेश मानन्धर र सिंगापुरस्थित एआई एसिया प्यासिफिक इन्स्टिच्युटका बोर्ड अध्यक्ष डा. पिटर ब्रिम्बल सहभागी हुनेछन्।
उक्त सत्रमा विश्वव्यापी एआई विकासका पछिल्ला प्रवृत्ति, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको सम्भावित भूमिका, प्रविधिमा रहेको परनिर्भरता न्यूनीकरण र अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे छलफल हुनेछ।
यसपटकको सम्मेलनमा नेपालको जलविद्युत् सम्भावनालाई एआई पूर्वाधार विस्तारसँग जोड्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। ‘पावरिङ नेपाल्स एआई एम्बिसन : फ्रम हाइड्रोपावर टु हाई–पर्फर्मेन्स कम्प्युटिङ’ शीर्षकको सत्रमा अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलाइना ग्रिन्सबोरोका प्रा. डा. निर क्षेत्री, पूर्वऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) की कार्यकारी निर्देशक सन्ध्या सिटौलालगायतले विचार राख्नेछन्।
सत्रमा उच्च क्षमताका कम्प्युटिङ प्रणाली, डेटा सेन्टर स्थापना, जलविद्युत्को उपयोग, क्लाउड सेवा, डिजिटल पूर्वाधारमा लगानी र अन्तर्राष्ट्रिय बजारमा नेपालको अवसरबारे बहस हुनेछ।
त्यस्तै, ‘फ्रम लर्निङ टु अर्निङ : एआई एजुकेसन, स्किल्स, इनोभेसन एन्ड फाइनान्सियल ट्रान्सफर्मेसन’ शीर्षकको सत्रमा एआई शिक्षा, सीप विकास, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन र वित्तीय क्षेत्रको रूपान्तरणका विषय समेटिनेछन्। उक्त सत्रमा जापानको वासेदा विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. विकास लम्साल र एक्वोर एलएलसीका सहसंस्थापक सन्दीप आचार्यलगायत सहभागी हुनेछन्।
सम्मेलनमा नेपालमै विकास गरिएका एआई परियोजना र प्रविधिगत नवप्रवर्तनलाई पनि प्रस्तुत गरिनेछ। ‘मेड इन नेपाल : सोकेसिङ होमग्रोन एआई इनोभेसन्स’ शीर्षकको विशेष सत्रमा नेपाली अनुसन्धानकर्ता तथा प्रविधि विकासकर्ताले आफ्ना परियोजना, तिनको व्यावहारिक प्रयोग र भविष्यमा विस्तार गर्न सकिने सम्भावनाबारे जानकारी दिनेछन्।
डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीले नेपालमा एआईको सम्भावनाबारे चर्चा बढे पनि त्यसलाई आर्थिक तथा सामाजिक उपलब्धिमा बदल्न आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र संस्थागत क्षमतामा पर्याप्त लगानी हुन नसकेको बताएका छन्।
यस वर्षको सम्मेलनले एआईसम्बन्धी नीतिगत बहसलाई व्यवहारमा उतार्ने उपाय खोज्नुका साथै नेपालको आन्तरिक क्षमता विकास, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना पहिचान गर्ने लक्ष्य लिएको सुवेदीले बताए।
फाउन्डेसनले सन् २०२४ देखि राष्ट्रिय एआई सम्मेलन आयोजना गर्दै आएको छ। पहिलो सम्मेलनमा सञ्चारमाध्यम, सार्वजनिक सेवा र सुशासनमा एआईको प्रयोगबारे छलफल गरिएको थियो। त्यस्तै, सन् २०२५ मा आयोजित दोस्रो सम्मेलनमा एआई र विकास, वित्तीय सेवा, स्वास्थ्य, मिथ्या सूचना तथा प्रविधि नीतिलगायतका विषयले स्थान पाएका थिए।
सम्मेलनमा सहभागी हुन इच्छुकले आयोजकको वेबसाइट aism26.dmf.org.np मार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन्।
