बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट खर्चसम्बन्धी मासिक विवरण सार्वजनिक गर्न सकेको छैन। प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको सफ्टवेयरमा देखिएको प्राविधिक समस्याका कारण खर्च विवरण वेबसाइटमा राख्न ढिलाइ भएको हो।
सामान्यतया प्रदेश सरकारका मन्त्रालयहरूको चालु तथा पुँजीगत खर्चको विवरण प्रत्येक महिनाको १ गते सार्वजनिक गरिँदै आएको छ। तर, चालु आर्थिक वर्ष सुरु भएदेखि नै लुम्बिनी प्रदेशले यस्तो विवरण सार्वजनिक गर्न सकेको छैन। अन्य प्रदेशहरूले भने आफ्नो बजेट खर्चको अवस्था सार्वजनिक गरिसकेका छन्।
प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार मन्त्रालयहरू एकआपसमा गाभिएर नयाँ संरचना बनेपछि सफ्टवेयरमा विवरण प्रविष्ट गर्ने क्रममा समस्या देखिएको हो।
मन्त्रालय एकीकरणपछि सफ्टवेयरले पुराना मन्त्रालयका विवरण मात्र देखाउने र नयाँ संरचनाअनुसारको तथ्यांक समेट्न नसक्ने समस्या आएको उनले बताए। यसैबीच केही दिन सर्भरसमेत बन्द हुँदा विवरण अद्यावधिक गर्ने काम थप प्रभावित भएको पौडेलको भनाइ छ।
समस्या समाधानका लागि संघीय अर्थ मन्त्रालयसँग पनि समन्वय भइरहेको उनले जानकारी दिए। सफ्टवेयरमा आवश्यक सुधार गर्ने काम जारी रहेकाले एक–दुई दिनभित्र समस्या समाधान हुन सक्ने उनको अपेक्षा छ।
सबै विवरण यकिन र पूर्ण रूपमा तयार भएपछि मात्रै वेबसाइटमार्फत सार्वजनिक गरिने पौडेलले बताए।
