शुक्रबार मन्त्रालयले नियमित प्रेस ब्रिफिङ आयोजना गर्दै यस्तो जानकारी दिएको हो।
प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका सञ्चालनमा ल्याउन बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको बताए।
उनका अनुसार बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्याएको क्षतिको मूल्याङ्कन, पुनःनिर्माणलगायतका विषयमा छलफल भएको छ।
यसअघि गत भदौ १० गते आएको बाढीपछि अवरुद्ध तातोपानी नाका दसैँको अवसरमा तीन दिनका लागि ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न खुला गरिएको थियो।
*उनले भने, ‘गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात् अवरुद्ध भएको नेपाल र चीन जोड्ने तातोपानी नाकाबाट ठूला मालवाहक सवारीसाधन दसैँको अवसरमा तीन दिनका लागि खुला गरिएको थियो। यसबारे अवगत नै छ।
यसैगरी, २६ अगस्ट २०२६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्याएको ठूलो क्षतिको मूल्याङ्कन गरी उक्त नाकालाई पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माणलगायतका विषयमा छलफल गर्न र अन्य नाकाहरू खुलाउने विषयमा सम्बन्धित विभाग तथा मन्त्रालयहरूसँग परराष्ट्रमन्त्रीको उपस्थितिमा अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ। चीनसँगका नाकाहरू खुलाउने सम्बन्धमा मन्त्रालयमार्फत नियमित समन्वय भइरहेको छ।’*
प्रवक्ता क्षेत्रीले दक्षिणपूर्वी एसियाली देशहरूमा सञ्चालित अनलाइन ठगीमा फसेका नेपाली नागरिकको उद्धारका लागि समेत आवश्यक पहल र समन्वय भइरहेको जानकारी दिए।
