काठमाडौं । नेपाली काँग्रेसका सांसद युवराज शर्माले बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत वितरण तथा बेपत्ता नागरिकको खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढी प्रभावित क्षेत्रमा राहत सामग्री प्रभावकारी रूपमा पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनका अनुसार सरकारले सबै पक्षसँग प्रभावकारी समन्वय गर्न नसक्दा देश तथा विदेशबाट प्राप्त राहत सामग्री प्रभावित नागरिकसम्म पुग्न नसकेको गुनासो आएको छ ।
बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकले आफ्नै पैसाले समेत आवश्यक सामग्री खरिद गर्न सक्ने अवस्था नरहेको भन्दै कतिपय पीडित भोकभोकै बस्नुपरेको गुनासो आफूले सुनेको उनले बताए ।
विपद्को यस घडीमा एकअर्कालाई दोषारोपण गर्नुभन्दा खोज, उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
राहत वितरणका लागि सरकारले अघि सारेको एकद्वार प्रणालीसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनको आरोप छ । स्थानीय तह, प्रदेश र संघीय सरकारबीच आवश्यक समन्वय बढाउनुपर्ने उनले बताए ।
सरकारले सबै काम आफैँ गर्ने मानसिकता राख्दा पीडितले उचित राहत पाउन नसकेको उनको भनाइ छ ।
उनले भने, ‘देश–विदेशबाट सक्दो सहयोग आइरहेको छ । त्यो सही ठाउँमा राहत नपुगेको कारणले मान्छेहरूको गुनासो छ कि हामी भोकभोकै छौँ, हाम्रा आफन्तहरू कोही गुमेका छन्, कोही भेटिने आशमा बसिरहेका छन् । तर सरकारले दिएको राहत हामीसित पुगेको छैन भन्ने गुनासो छ ।’
सरकारले घोषणा गरेको एकद्वार प्रणालीलाई व्यवस्थित गर्न नसकेको उनले बताए ।
‘स्थानीय निकाय, प्रदेशसँग समन्वय गर्नुपथ्र्यो । त्यसमा सरकार चुकेकै हो । परिणाममूलक काम हुनुपर्यो । प्रचारबाजीमा सरकार लाग्नु भएन । सरकारका मन्त्रीहरू लाग्नु भएन,’ उनले भने ।
उनले सरकार र मन्त्रीहरू खोज तथा उद्धार एवं राहत वितरणमा केन्द्रित हुनुपर्ने समयमा प्रचारबाजीमा बढी केन्द्रित भएको टिप्पणी गरे ।
– न्युज एजेन्सी नेपाल
