काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई अति कम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने पूर्वनिर्धारित समय तीन वर्ष पछाडि सार्ने निर्णय गरेको छ।
महासभाले यससम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेसँगै नेपालले स्तरोन्नतिका लागि तयारी गर्ने अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थपिएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै सरकारले स्तरोन्नतिको समयतालिका लम्ब्याउन संयुक्त राष्ट्रसङ्घसँग आग्रह गरेको थियो। यसअघि नेपाललाई सन् २०२६ नोभेम्बरमा अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति गर्ने तयारी थियो।
सरकारको निर्णयअनुसार परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०२६ मे महिनामा संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिका अध्यक्ष तथा महासचिवलाई औपचारिक पत्र पठाउँदै स्तरोन्नतिको म्याद थप गर्न अनुरोध गरेका थिए।
नेपालको प्रस्तावलाई स्वीकार गर्दै महासभाले नयाँ समयसीमा निर्धारण गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए।
