स्थानीय तहको निर्वाचनपछि मात्रै एकता महाधिवेशन गर्ने नेकपाको तयारी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले नेकपा एमालेसँग दीर्घकालीन एकताको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको बताएका छन्। तत्कालका लागि भने आगामी निर्वाचनमा वामपन्थी दलहरूसँग सहकार्य र चुनावी तालमेल गरेर जाने विषयमा पार्टीभित्र छलफल भइरहेको उनको भनाइ छ।
गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित २५ वटा वामपन्थी दल मिलेर बनेको नेकपा १७ सिटमा सीमित हुँदै चौथो स्थानमा खुम्चिएको थियो। विशेषगरी सुदूरपश्चिममा एउटा पनि सिट जित्न नसकेपछि पार्टीभित्र नेतृत्व र संगठनको अवस्थाबारे समीक्षा गर्नुपर्ने आवाज उठिरहेको छ।
चुनावी परिणामपछि पार्टीले तत्काल एकता महाधिवेशन नगरी आगामी स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने निर्णय गरेको छ। त्यसअघि दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गरेर संगठन सुदृढीकरण, कार्यकर्ताको निराशा कम गर्ने र पार्टीको आगामी रणनीति तय गर्ने तयारी गरिएको छ।
नेकपाको राष्ट्रिय जागरण अभियान, आगामी निर्वाचनको रणनीति, नेतृत्व पुनर्गठन र वामपन्थी एकताको सम्भावनाबारे नेता जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश :
प्रश्न : गत फागुनको निर्वाचनमा नेकपाले ठूलो धक्का बेहोर्यो। सुदूरपश्चिममा एउटा पनि सिट जित्न सकेन। अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको छ। अभियानमा कार्यकर्ताको उत्साह कस्तो छ ?
अहिले नै अभियानप्रति उत्साह बढेको छ भनेर निष्कर्ष निकाल्ने अवस्था बनिसकेको छैन। तर पार्टीले जनतामाझ पुग्ने महत्वपूर्ण निर्णय गरेको छ। गत भदौ २३ र २४ गतेका घटनापछि नेता तथा कार्यकर्तामा देखिएको निराशा र असन्तुष्टिलाई सम्बोधन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
अभियानका क्रममा पार्टीका विचार, धारणा र आगामी योजनाबारे जनता, कार्यकर्ता तथा बुद्धिजीवीसँग छलफल गरिनेछ। अहिले हाम्रो पार्टीको संगठनात्मक समायोजनको काम जिल्ला, पालिका, वडा र टोल तहसम्म पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। समायोजनका काम पूरा नगरी अन्य गतिविधि प्रभावकारी रूपमा अघि बढाउन कठिन हुन्छ। महाधिवेशनमा ढिलाइ हुनुको एउटा कारण पनि यही हो।
अभियानमार्फत मुख्यतः चारवटा कामलाई प्राथमिकता दिएका छौँ। पहिलो, पार्टीका सबै तहमा संगठनात्मक समायोजन पूरा गर्ने। दोस्रो, जनवर्गीय संगठनहरूको समायोजन टुङ्ग्याउने। तेस्रो, सदस्यता नवीकरण र नयाँ सदस्यता विस्तार गर्ने। चौथो, निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसक्नुका कारण पहिचान गर्दै पार्टीका कमजोरीबारे कार्यकर्ताबाट सुझाव सङ्कलन गर्ने।
हामी किन कमजोर भयौँ, नयाँ राजनीतिक शक्तिहरू किन उदाए र जनताको विश्वास किन घट्यो भन्ने विषयमा पनि गम्भीर समीक्षा गर्नेछौँ। नेतृत्व र पार्टीको कार्यशैलीमा भएका कमीकमजोरी पहिचान गरी आगामी दिनमा सुधार गर्ने हाम्रो उद्देश्य हो।
महाधिवेशन सकेसम्म छिटो गर्ने तयारी छ। तर स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुने अवस्था बनेमा महाधिवेशन केही पछाडि सर्न सक्छ। कस्तो पार्टी निर्माण गर्ने र नेतृत्वको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा पनि अभियानबाट सुझाव लिनेछौँ।
प्रश्न : आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टी पुनर्स्थापनाका लागि के योजना बनाउँदै हुनुहुन्छ ?
गत फागुन २१ गतेको निर्वाचनमा हामीले गरेको राजनीतिक विश्लेषण र अपेक्षाअनुसार परिणाम आउन सकेन। आगामी निर्वाचनमा पनि त्यस्तै अवस्था दोहोरिन्छ भनेर अहिले नै भन्न सकिँदैन।
त्यसैले अभियानका क्रममा जनताको घरदैलोमै पुगेर उनीहरूको वास्तविक धारणा बुझ्ने योजना बनाएका छौँ। जनताका गुनासा, सुझाव र अपेक्षाका आधारमा आगामी निर्वाचनको नीति तथा कार्यक्रम तयार गर्नेछौँ।
आवश्यकताअनुसार अन्य वामपन्थी दलसँग सहकार्य गरेर अघि बढ्नुपर्ने विषयमा पनि पार्टीभित्र छलफल भइरहेको छ। अहिलेको राजनीतिक धक्का सम्बोधन गर्न विशेषगरी नेकपा एमालेसँग दीर्घकालीन एकताको सम्भावनाबारे संवाद अघि बढाउने सोच छ। तत्कालका लागि भने सहकार्य र चुनावी तालमेललाई प्राथमिकता दिन सकिन्छ भन्ने हाम्रो धारणा हो।
प्रश्न : नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेर चुनावी तयारी थालेको छ। तर नेकपा र एमालेमा पुरानै नेतृत्व र कार्यशैली कायम रहेको भन्दै आलोचना भइरहेको छ। यसले जनताको विश्वास जित्न कठिन बनाएको होइन ?
हाम्रो पार्टीमा नेतृत्व परिवर्तनको विषयलाई लिएर अहिले ठूलो विवाद छैन। तत्कालै नेतृत्व परिवर्तन गर्नुपर्ने भन्ने अवस्था पनि छैन। तर आगामी महाधिवेशनबाट पार्टीको पुनर्गठन हुनुपर्छ भन्ने धारणा बलियो छ।
पुराना नेताहरूले सक्रिय कार्यकारी भूमिकाबाट केही पछि हटेर अभिभावकीय भूमिका निर्वाह गर्दा उपयुक्त हुने सुझाव पनि आएका छन्। यद्यपि महाधिवेशनमा कार्यकर्ताको वास्तविक भावना कस्तो हुन्छ भन्ने कुरा छलफलपछि मात्रै स्पष्ट हुनेछ।
पार्टीका विभिन्न बैठकमा ३५ वर्षमुनिका युवालाई पनि संगठनका विभिन्न तहमा उचित प्रतिनिधित्व दिनुपर्ने विषय उठेको छ। उमेर समूहका युवासँगै इन्जिनियर, चिकित्सक, अर्थविद्, वातावरणविद्लगायत विभिन्न क्षेत्रका विज्ञलाई पनि पार्टी संरचनामा समेट्नुपर्ने आवश्यकता छ।
आगामी महाधिवेशनलाई व्यवस्थित र समावेशी बनाउन यस्ता विषयमा सुझाव सङ्कलन गरिरहेका छौँ। कार्यकर्तामा नयाँ उत्साह जगाउने उद्देश्यले प्रदेशस्तरीय कार्यक्रम कात्तिक १६ गतेदेखि सुरु गर्ने तयारी छ। त्यसपछि जिल्ला हुँदै पालिका, वडा र टोल तहसम्म अभियान विस्तार गरिनेछ।
अहिले कार्यकर्तामा निराशा र असन्तुष्टि रहेको कुरा हामीले स्वीकार गरेका छौँ। ती समस्या समाधान गर्दै पार्टीलाई नयाँ ढङ्गले अघि बढाउने प्रयास हुनेछ।
प्रश्न : २५ वटा वामपन्थी दल मिलेर चुनावमा जाँदासमेत अपेक्षित मत प्राप्त गर्न सक्नुभएन। पार्टीको नीति र नेतृत्वमा भएका कमजोरीको समीक्षा आवश्यक छैन ?
निर्वाचनको परिणामलाई लिएर पार्टी नेतृत्व पनि गम्भीर छ। केन्द्रीय संयोजन समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरूले यस विषयमा विस्तृत छलफल गर्नुभएको छ।
नेतृत्वमा निरन्तर बसिरहने पक्षमा आफूहरू नरहेको र महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण तथा पार्टी पुनर्गठन गर्न तयार रहेको धारणा नेताहरूले राख्नुभएको छ। पार्टीलाई कसरी प्रभावकारी बनाउने र आगामी दिनमा नेतृत्वको भूमिका कस्तो हुने भन्ने विषयमा पनि छलफल भइरहेको छ।
अहिले कार्यकर्तामाझ भावी नेतृत्व निर्माण र वामपन्थी एकताको विषयले प्राथमिकता पाएको छ। त्यसका लागि नेकपा एमाले र राष्ट्रिय जनमोर्चालगायत दलसँग पनि परामर्श भइरहेको छ। पार्टीभित्र देखिएको निराशा हटाउन नेतृत्व तहबाट विभिन्न प्रयास भइरहेका छन्। त्यसमा हाम्रो पनि साथ र समर्थन छ।
प्रश्न : प्रतिनिधिसभा निर्वाचनमा शून्य सिटमा सीमित भएको सुदूरपश्चिममा आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पार्टीले पुनः राम्रो उपस्थिति जनाउन सक्ला ?
अहिलेको अवस्थामा पार्टीलाई पुरानै अवस्थामा फर्काउन सहज छैन। तर प्रतिनिधिसभा निर्वाचनको परिणामबाट हामीले धेरै पाठ सिकेका छौँ। ती कमजोरी सुधार गर्दै सुदूरपश्चिममा पार्टीको स्थिति बलियो बनाउने तयारी भइरहेको छ।
आगामी निर्वाचनमा विगतको जस्तो निराशाजनक परिणाम नआउने र सम्मानजनक उपस्थिति रहने विश्वास लिएको छु। सोहीअनुसार संगठन विस्तार र चुनावी तयारीलाई अघि बढाउनेछौँ।
