काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति असन्तुष्टि जनाएको छ।
एसोसिएसनले बुधबार विज्ञप्ति जारी गर्दै दुवै इन्जिनियरलाई नियन्त्रणमा लिने क्रममा अपनाइएको प्रक्रिया र त्यसको कानुनी आधारबारे प्रश्न उठाएको हो।
विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा कानुनी शासन, विधिको प्रक्रिया र मौलिक हकको सम्मान गर्दै प्रचलित कानुनले निर्धारण गरेका आधार तथा प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख छ।
पक्राउको आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिने कारबाहीले विधिको शासन तथा पेशागत मर्यादामाथि प्रश्न खडा गर्ने एसोसिएसनको ठहर छ। यस्तो कार्यप्रति संस्थाले गम्भीर असहमति व्यक्त गरेको छ।
एसोसिएसनले सम्बन्धित निकायसँग दुवै इन्जिनियरलाई नियन्त्रणमा लिनुको कारण र कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ। साथै, उनीहरूको मानव अधिकार तथा कानुनी अधिकार सुनिश्चित गर्दै निष्पक्ष, पारदर्शी र कानुनसम्मत अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

