काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का १५औँ महासचिव मोहम्मद गोलाम सरवार आफ्नो तीन वर्षे कार्यकाल समाप्त गरी स्वदेश फर्किएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार २०८० कात्तिकमा महासचिव नियुक्त भएका सरवारले कार्यकाल पूरा गरेपछि बिदाइ लिएका हुन्।
सरवारको कार्यकालमा सार्कको गतिविधि प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो। सन् २०१४ देखि हुन नसकेको सार्क शिखर सम्मेलनलाई पुनः आयोजना गर्ने वातावरणसमेत बनाउन नसकेको विषय उनको कार्यकालको मुख्य कमजोरीका रूपमा औँल्याइएको छ।
बङ्गलादेशबाट प्रतिनिधित्व गर्ने सरवार सार्कको महासचिव बन्ने उक्त देशका तेस्रो कूटनीतिज्ञ हुन्। सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवामा प्रवेश गरेका उनले मलेसिया, ओमान र स्वीडेनका लागि राजदूतका रूपमा काम गरिसकेका छन्। यसका अतिरिक्त क्वालालम्पुर, काठमाडौं, याङ्गुन र वासिङ्टन डिसीस्थित कूटनीतिक नियोगमा पनि उनले जिम्मेवारी सम्हालेका थिए।
सार्कको १६औँ महासचिवका रूपमा भुटानका तासो सोनाम तोब्गे नियुक्त भएका छन्। उनी छिट्टै काठमाडौं आउने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सार्क सचिवालयको नेतृत्व सदस्य राष्ट्रहरूको वर्णानुक्रमअनुसार सिफारिस गर्ने परम्परा छ। यसअनुसार नयाँ महासचिव नियुक्त गर्ने पालो अफगानिस्तानको थियो। तर तालिबान नेतृत्वको सरकारलाई सार्कका सदस्य राष्ट्रहरूले मान्यता नदिएका कारण अफगानिस्तानले नेतृत्वको अवसर पाउन सकेन।
त्यसपछि बङ्गलादेशले अवसर पाएको थियो। अहिले पनि अफगानिस्तानलाई जिम्मेवारी नदिई भुटानका प्रतिनिधिलाई महासचिव नियुक्त गरिएको छ।
