काठमाडौं । नागढुङ्गा सुरुङमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर उठाउन थालिएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क अनिवार्य गरिएको हो।
नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार काठमाडौं भित्रिने र बाहिरिने दुवैतर्फका सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित दरअनुसार दस्तुर बुझाउनुपर्नेछ।
निर्धारित शुल्कअनुसार कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। यस्तै, ठूला सवारीसाधनका लागि सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
प्रारम्भिक चरणमा यात्रुले नगद वा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन्। आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रयोग गरी स्वचालित रूपमा शुल्क कट्टी हुने प्रणाली सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिए।
सुरुङमार्गमा खटिएका सेवा प्रदायकका कर्मचारीले दस्तुर संकलन गर्नेछन्। यसरी उठाइएको रकम सडक बोर्ड नेपालको खातामा जम्मा गरिनेछ। शुल्क संकलनको व्यवस्थापन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन्।
नयाँ व्यवस्था कार्यान्वयनमा आएसँगै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आफ्नो वर्गअनुसार निर्धारित शुल्क बुझाएर मात्र यात्रा गर्नुपर्ने भएको छ।
