काठमाडौं । उमा भुजेलको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुवै राजनीतिक दलबीच शनिबार (कात्तिक १७ गते) औपचारिक एकता घोषणा गर्ने तयारी गरिएको छ।
कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे विशेष कार्यक्रम आयोजना गरी पार्टी एकताको घोषणा गरिने जनाइएको छ।
यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएकी भुजेलले छुट्टै राष्ट्रिय भेला आयोजना गरेकी थिइन्। उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।
कम्युनिस्ट आन्दोलनभित्र एकता र सहकार्यलाई बलियो बनाउँदै राजनीतिक ध्रुवीकरणको प्रक्रियालाई अघि बढाउने लक्ष्यसहित दुई दलबीच एकता हुन लागेको बताइएको छ। यो समायोजनपछि दुवै पक्षका नेता तथा कार्यकर्ता एउटै राजनीतिक संगठनमा आबद्ध हुनेछन्।
