काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्मको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । यस वर्ष बैंकहरूको कुल खुद नाफा ४५.४६ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिलले तीन महिनामा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड र तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै, एभरेस्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड र एनएमबि बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
कृषि विकास बैंकले १ अर्ब १ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका छन् ।
अधिकांश बैंकको नाफा बढ्दा केहीको घट्यो
२० वाणिज्य बैंकमध्ये १० वटाले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । नाफा वृद्धिका हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सुधार उल्लेखनीय देखिएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढाएर १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको पहिलो त्रैमासमा ५८ करोड ८७ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष बढाएर १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ पुर्याएको छ । कृषि विकास बैंकको नाफा पनि ५७ करोड ३८ लाखबाट बढेर १ अर्ब ९ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
गत वर्ष २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड २७ लाख रुपैयाँ खुद नाफामा फर्किएको छ ।
यद्यपि, सबै बैंकको नाफा भने बढेको छैन । प्राइम कमर्सियल, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबि बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ ।
अन्य बैंकमध्ये सिद्धार्थ बैंकले ८५ करोड १५ लाख, नेपाल बैंकले ८३ करोड २१ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख, हिमालयन बैंकले ६८ करोड ४८ लाख र लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
त्यस्तै, प्रभु बैंकले ६४ करोड ७४ लाख, नेपाल एसबीआई बैंकले ५५ करोड ८५ लाख, माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख र एनआईसी एसिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
