आचरणविपरीत काम गरेको आरोपमा चालु आर्थिक वर्षमै २० देखि २५ प्रहरी कर्मचारीले जागिर गुमाएको काफ्लेको भनाइ
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले आर्थिक अनुशासन र संगठनको आचरणविपरीत काम गर्ने प्रहरी कर्मचारीमाथि कडा कारबाही हुने चेतावनी दिएका छन् ।
आइतबार राजधानीमा आयोजित सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राज्यबाट प्राप्त हुने सेवा–सुविधाप्रति असन्तुष्ट हुने कर्मचारीले जागिर छाड्न सक्ने तर प्रहरी पोसाक र अधिकारको दुरुपयोग गरी आर्थिक अनियमितता गर्नेले उन्मुक्ति नपाउने स्पष्ट पारे ।
काफ्लेले चालु आर्थिक वर्ष सुरु भएयता नै आचरणविपरीत गतिविधिमा संलग्न भएको भन्दै २० देखि २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेको जानकारी दिए ।
उनले प्रहरीमाथि आर्थिक अनियमितताको आरोप लाग्नु संगठनका लागि गम्भीर विषय भएको बताए । राज्यले उपलब्ध गराएको तलब तथा सुविधामा सन्तुष्ट भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
सडकमा नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने भएकाले ट्राफिक प्रहरीको व्यवहार सभ्य, जिम्मेवार र परिस्थितिअनुकूल हुनुपर्नेमा उनले जोड दिए । हरेक घटनाको प्रकृति फरक हुने भएकाले कानुन कार्यान्वयन गर्दा विवेकपूर्ण निर्णय लिन पनि उनले मातहतका कर्मचारीलाई निर्देशन दिए ।
काफ्लेले उदाहरण दिँदै घाइतेलाई अस्पताल पुर्याउन हतारिएको सवारी र मादक पदार्थ सेवन गरेर नियम उल्लंघन गर्दै हिँडेको सवारीलाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने बताए । यस्तो अवस्थामा घटनाको वास्तविक अवस्था बुझेर स्वविवेकीय अधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
तर, जानाजान कानुन उल्लंघन गर्ने तथा सडकमा होहल्ला र अव्यवस्था सिर्जना गर्ने व्यक्तिमाथि भने कानुनअनुसार कडा कारबाही गर्न उनले निर्देशन दिएका छन् ।
व्यक्तिगत स्वार्थभन्दा नागरिकको हितलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै काफ्लेले ट्राफिक प्रहरीको व्यवहार र कार्यशैलीका कारण सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था आउन नदिन कर्मचारीलाई सचेत गराएका छन् ।
