झापाको मेचीनगर नगरपालिका–१५ की जागनी राजवंशी विगत एक दशकदेखि धुलाबारी मोडमा भक्का बेच्दै आएकी छन्। घरबाट करिब दुई किलोमिटर दूरी पार गरेर उनी दैनिक बजार पुग्छिन् र बिहानैदेखि तातो भक्का बिक्री गर्छिन्।
उनका अनुसार दैनिक करिब १० किलो चामलको पीठोबाट भक्का तयार गरी बिक्री गर्ने गरिएको छ। यसबाट परिवारको दैनिक खर्च धान्न सहज भएको उनले बताइन्।
हरेक बिहान करिब ५ बजे भक्का बनाउने भाँडाकुँडा, चुलो, दाउरा र सालका पात बोकेर उनी घरबाट बजार निस्किन्छिन्। सालको हरियो पातमा राखेर ग्राहकलाई दिइने तातो भक्का स्वादिलो अचारसँग खाने चलन छ।
चामलको पीठोलाई बाफमा पकाएर तयार गरिने भक्का उसिनेको परिकार हो। यसमा तेल तथा चिल्लो पदार्थ प्रयोग नहुने भएकाले स्वास्थ्यप्रति सचेत उपभोक्ताको रोजाइमा समेत पर्ने गरेको छ। भक्का सामान्यतया चिया र विभिन्न प्रकारका अचारसँग खाने गरिन्छ।
मेचीनगर नगरपालिका–१० की अम्ला राजवंशी पनि डेढ दशकदेखि खयरडाँगी चोकमा भक्का बिक्री गर्दै आएकी छन्। उनले दैनिक १५ किलोसम्म चामलको पीठोबाट तयार गरिएको भक्का बिक्री हुने गरेको जानकारी दिइन्।
बिहानको पदयात्रामा निस्कने सर्वसाधारण उनका नियमित ग्राहक हुन्। बालबालिका तथा ज्येष्ठ नागरिकसमेत भक्का खान उनको पसलमा पुग्ने गरेका छन्।
अम्लाका अनुसार बिहान चारदेखि पाँच घण्टा मात्रै भक्का बिक्रीमा समय खर्चिए पुग्छ। त्यसपछि अन्य घरायसी तथा व्यावसायिक काममा संलग्न हुन सहज हुन्छ। उनको मासिक कारोबार ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म पुग्ने गरेको छ। यस व्यवसायबाट आधाभन्दा बढी नाफा हुने गरेको उनले बताइन्।
स्थानीय व्यापारीका अनुसार जाडोयाममा भक्काको माग उच्च हुने गर्छ। विशेषगरी कात्तिक महिनादेखि फागुनको पहिलो सातासम्म यसको व्यापार राम्रो हुने गरेको छ।
झापामा राजमार्गको उत्तरी क्षेत्रको तुलनामा दक्षिणी भेगमा भक्का बिक्री गर्ने पसल बढी देखिन्छन्। साना लगानीबाट सञ्चालन गर्न सकिने यस व्यवसायले जिल्लाका हजारौँ आदिवासी महिलालाई रोजगारीको अवसर प्रदान गर्नुका साथै आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ। यद्यपि, नयाँ पुस्ताको आकर्षण भने यस व्यवसायप्रति तुलनात्मक रूपमा कम देखिएको छ।
भक्काको लोकप्रियता स्थानीय समुदायमा मात्र सीमित छैन। अध्ययनका लागि झापा पुगेका अन्य जिल्लाका विद्यार्थीसमेत यसको स्वादमा रमाउने गरेका छन्।
मेची बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत तेह्रथुमको फेदाप–१ की १९ वर्षीया रमिला लिम्बूका अनुसार झापाका गल्ली र चोकमा जाडो मौसममा भक्का सहजै पाइन्छ। भद्रपुरमा उनीहरू पनि हरेक बिहान क्याम्पस जानुअघि चियासँगै भक्का खाने गर्छन्। विशेषगरी वीरे नुन मिसाइएको टमाटर र खुर्सानीको अचारसँग भक्का खाँदा स्वाद अझ बढ्ने उनको अनुभव छ।
भद्रपुरका विभिन्न गल्ली तथा सडक किनारमा राखिएका भक्का पसलमा बिहानैदेखि विद्यालय र क्याम्पस जाने विद्यार्थी तथा बिहानी पदयात्रामा निस्कने सर्वसाधारणको भीड लाग्ने गरेको छ।
पूर्वी नेपालको मौलिक खानपान र सांस्कृतिक पहिचानका रूपमा स्थापित भक्काको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले झापामा प्रत्येक वर्ष ‘भक्का दिवस’ समेत मनाइँदै आएको छ। परम्परागत स्वादसँगै स्थानीय महिलाको स्वरोजगार र आर्थिक आत्मनिर्भरतासँग जोडिएको भक्का पछिल्लो समय पूर्वी तराईको विशिष्ट पहिचानका रूपमा स्थापित हुँदै गएको छ।
