न्यूनतम मासिक तलब ३० हजार टाका पुर्याउन माग गर्दै मजदुरहरू सडकमा, नियन्त्रणका लागि अश्रुग्यास र साउन्ड ग्रेनेड प्रयोग
ढाका । न्यूनतम पारिश्रमिक बढाउनुपर्ने मागसहित बङ्गलादेशका तयारी पोसाक (गार्मेन्ट) उद्योगका मजदुरले थालेको आन्दोलन उग्र बनेको छ । राजधानी ढाकासहित आसपासका औद्योगिक क्षेत्रमा प्रदर्शनकारीले तोडफोड, सडक अवरोध र आगजनी गरेका छन् ।
शनिबारदेखि सुरु भएको आन्दोलन आइतबार ढाकाको मीरपुर र गाजीपुरको कोनाबाडीलगायत औद्योगिक क्षेत्रमा फैलिएको हो । प्रदर्शनका क्रममा केही फ्याक्ट्री तथा प्रहरी चौकीमा ढुङ्गामुढा र तोडफोड भएको छ भने केही स्थानमा प्रहरीका सवारीसाधनमा समेत आगजनी गरिएको छ ।
प्रदर्शनकारीले मुख्य सडकमा अवरोध खडा गरेपछि यातायात प्रभावित भएको थियो । भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र साउन्ड ग्रेनेड प्रयोग गरेको छ । सुरक्षा व्यवस्था कडा पार्न प्रहरीसँगै ‘बोर्डर गार्ड बङ्गलादेश’ (बिजिबी) का टोलीसमेत परिचालन गरिएको छ ।
हाल बङ्गलादेशमा गार्मेन्ट मजदुरको न्यूनतम मासिक पारिश्रमिक १२ हजार ५०० टाका छ । मजदुरहरूले उक्त रकम बढाएर कम्तीमा ३० हजार टाका बनाउनुपर्ने माग अघि सारेका छन् ।
सरकारले हालै निजामती तथा सरकारी कर्मचारीका लागि नयाँ तलबमान लागू गर्दै तलब र भत्तामा झण्डै दोब्बर वृद्धि गरेपछि गार्मेन्ट मजदुरले पनि पारिश्रमिक बढाउन दबाब दिएका हुन् । सरकारले मजदुरको तलब पुनरावलोकन गर्न नयाँ वेतन बोर्ड गठन गरे पनि तत्काल निर्णय गर्नुपर्ने माग राख्दै उनीहरूले आन्दोलन जारी राखेका छन् ।
यता, गार्मेन्ट उद्योगीहरूले भने मजदुरको माग तत्काल पूरा गर्न नसकिने बताएका छन् । अन्तर्राष्ट्रिय बजारबाट पर्याप्त अर्डर नआएको, तयारी पोसाकको मूल्य नबढेको र कच्चा पदार्थ आयातको लागत बढेको उनीहरूको तर्क छ ।
बङ्गलादेशको अर्थतन्त्रमा गार्मेन्ट उद्योगको योगदान
सन् १९७० को दशकको अन्त्यतिर विकास हुन थालेको बङ्गलादेशको तयारी पोसाक उद्योग अहिले देशको अर्थतन्त्रको प्रमुख आधार बनेको छ । कुल निर्यात व्यापारमा यस क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको छ भने करिब ४० लाख मानिस प्रत्यक्ष रूपमा यस उद्योगमा आबद्ध छन् ।
यस क्षेत्रमा कार्यरत मजदुरमध्ये ६० देखि ७० प्रतिशत महिला रहेको बताइन्छ । गार्मेन्ट उद्योगले महिलालाई रोजगारी र आर्थिक आत्मनिर्भरताको अवसर प्रदान गर्नुका साथै उनीहरूको सामाजिक तथा आर्थिक अवस्था सुधार्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।
