पाँचवर्षे कार्यकाल पूरा गरी कात्तिक २४ गते पदमुक्त हुँदै खापुङ, मुख्यमन्त्रीद्वारा योगदानको प्रशंसा
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग बिदाइ भेट गरेका छन् । पाँच वर्षे कार्यकाल पूरा गर्न लागेका खापुङ कात्तिक २४ गते पदबाट बिदा हुँदैछन् ।
विसं २०७८ कात्तिक २५ गते प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका खापुङसँगको भेटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिका लागि उनले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार भेटका क्रममा प्रदेशको विकास, समसामयिक विषय तथा विभिन्न पक्षमा छलफल भएको थियो ।
मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बाबजुद प्रदेशमा विकास र स्थायित्व कायम गर्ने प्रयास भइरहेको बताए । सङ्घीयता कार्यान्वयनपछि पाँच वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका प्रदेश प्रमुख खापुङप्रति उनले आभार व्यक्त गरे ।
प्रदेश प्रमुखले अभिभावकको भूमिका निर्वाह गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई व्यवस्थित बनाउन खेलेको भूमिका स्मरणीय रहने मुख्यमन्त्री कार्कीको भनाइ थियो ।
भेटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारबाट प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद दिएका थिए ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ । एक प्रदेशमा पाँच वर्ष कार्यकाल पूरा गरेपछि सोही प्रदेशमा पुनः प्रदेश प्रमुखका रूपमा नियुक्त हुन नपाउने व्यवस्था छ ।
