बाल कलाकार नक्षत्रसँगको प्रि–रिलिज कार्यक्रमको भिडियो भाइरल भएपछि विवाद चर्कियो, निर्माण कम्पनीलाई तेलंगाना श्रम विभागको स्पष्टीकरण माग
मुम्बई । दक्षिण भारतीय अभिनेता रवि तेजाको अभिनय रहेको फिल्म ‘इरुमुडी’ बाल कलाकारसँग जोडिएको विवादमा परेको छ । फिल्मको प्रचार कार्यक्रममा बाल कलाकार नक्षत्रप्रति अभिनेताले गरेको व्यवहार र छायांकनका क्रममा बाल श्रमसम्बन्धी नियम पालना नगरिएको आरोपपछि तेलंगाना श्रम विभागले निर्माण कम्पनीलाई स्पष्टीकरण माग्दै नोटिस पठाएको छ ।
‘जय लोक सत्ता’का अध्यक्ष सी. महेश बाबुले फिल्मको छायांकन तथा प्रचारका क्रममा नाबालिग बालिकालाई सहभागी गराउँदा कानुनी प्रावधान उल्लङ्घन भएको भन्दै श्रम विभागमा उजुरी दिएका थिए । उजुरीमा बालिकाले काम गर्नुपर्ने समय, पारिश्रमिक र सुरक्षाको व्यवस्थाबारे प्रश्न उठाइएको छ ।
उक्त उजुरीपछि रङ्गा रेड्डी क्षेत्रका संयुक्त श्रम आयुक्तले नोभेम्बर ४ मा फिल्मको निर्माण कम्पनी ‘मैथरी मुभी मेकर्स’का प्रतिनिधिसँग छलफलका लागि बैठक बोलाएका छन् ।
विभागले निर्माण पक्षलाई जिल्ला मजिस्ट्रेटको अनुमति, अभिभावकको सहमति, बालिकाको पढाइमा नपरेको असर र पारिश्रमिकको २० प्रतिशत रकम निश्चित निक्षेप खातामा राखिएको प्रमाण पेस गर्न भनेको छ । फिल्मको प्रचार कार्यक्रममा बालिकाको सहभागिता र सुरक्षासम्बन्धी व्यवस्थाबारे पनि छानबिन गरिने जनाइएको छ ।
यसैबीच, फिल्मको प्रि–रिलिज कार्यक्रममा खिचिएको एउटा भिडियो सामाजिक सञ्जालमा फैलिएपछि विवाद थप चर्किएको छ । कार्यक्रममा बाल कलाकार नक्षत्रले रवि तेजालाई आफूलाई कस्तो उपनाम दिन चाहनुहुन्छ भनेर प्रश्न गरेकी थिइन् ।
जवाफ दिने क्रममा तेजाले दुई पटक आपत्तिजनक शब्द प्रयोग गरेको भिडियोमा देखिन्छ । उक्त शब्द सुनेपछि कार्यक्रममा उपस्थित केही व्यक्ति हाँसेका थिए । बालिकाले त्यसको अर्थ आफूलाई थाहा नभएको बताएपछि अभिनेताले पछि बताउने प्रतिक्रिया दिएका थिए ।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अभिनेताको व्यवहारको आलोचना भइरहेको छ । तर, रवि तेजा र फिल्म निर्माण टोलीले यस विषयमा हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
गत अगस्ट २१ मा प्रदर्शनमा आएको ‘इरुमुडी’ पारिवारिक कथामा आधारित फिल्म हो । यसमा मदिराको लत र हिंसात्मक विगत भएका एक पिताले छोरीको इच्छा पूरा गर्न अयप्पा दीक्षा लिने निर्णय गरेको कथालाई प्रस्तुत गरिएको छ ।
