सिंहदरबारमा जारी कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै उनले सरकारले कानुनी व्यवस्थालाई कमजोर बनाएर सत्ताको दुरुपयोग गरेको बताएका हुन्।
बैठकमा सहभागी स्रोतका अनुसार महामन्त्री पौडेलले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान र कानुनको पालना हुनुपर्नेमा जोड दिएका थिए।
उनले अन्य प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गरेर अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन्। साथै, प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्नुपर्ने उनको धारणा थियो।
अदालतमा देखिएको भनिएको सेटिङ प्रकरणमा बिचौलियासँग न्यायाधीश, सरकार प्रमुख तथा प्रहरीसमेत जोडिएको विषयको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग पनि पौडेलले गरेका छन्।
सरकार आफैँले यस प्रकरणको निष्पक्ष छानबिन गर्नेमा विश्वास गर्न नसकिने उनको भनाइ थियो। उनले प्रतिपक्षी दल, संसद्, नागरिक र सञ्चारमाध्यममाथि सरकारको व्यवहार अपमानजनक रहेको तथा राज्यका संवैधानिक निकायहरूलाई कमजोर बनाउने काम भइरहेको आरोपसमेत लगाए।
कांग्रेस संसदीय दलको बैठक जारी रहेकै बेला महामन्त्री पौडेलले आफ्नो धारणा राखेर बैठकस्थलबाट बाहिरिएका छन्।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमा सिर्जना गरिएको त्रास तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल हुने प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी छन्।
