काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पहलमा विपक्षी दलका नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेको छ। कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र विवादित विषयमा साझा धारणा बनाउने प्रयास भइरहेको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेको आह्वानमा बसेको बैठकमा पत्रकारमाथि भइरहेको धरपकड, सरकारसँग बिचौलियाको सम्बन्ध रहेको भन्ने आरोप तथा न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा छलफल भइरहेको छ।
बैठकबाट विवादित प्रकरणबारे संसदीय छानबिन गर्नुपर्ने र संसद् अधिवेशन आह्वान गर्नुपर्ने मागसहित साझा निर्णय सार्वजनिक गर्ने तयारी रहेको छ।
बैठकमा आङ्दाम्बेसँगै राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक वासना थापा सहभागी छन्। त्यस्तै, नेकपा एमालेकी संसदीय दलकी उपनेता पदमा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, प्रमेश हमाल र युवराज दुलाल पनि छलफलमा छन्।
जनता समाजवादी पार्टीका महन्त ठाकुर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीलगायत नेताहरूको पनि बैठकमा सहभागिता रहेको छ।
