काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले संघीय संसद्को अधिवेशन तत्काल बोलाउन माग गरेका छन्। विभिन्न समसामयिक विवाद र राजनीतिक विषयमा छलफल तथा संसदीय निगरानी आवश्यक रहेको भन्दै उनीहरूले संसद् बैठक आह्वान गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।
कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले पत्रकारमाथिको धरपकड, सरकारसँग बिचौलियाको सम्बन्ध रहेको भन्ने आरोप र न्यायाधीशमाथि महाभियोगको चर्चालगायत विषय संसद्मा उठाउनुपर्ने बताए।
उनका अनुसार यी विषयमा छलफल र साझा धारणा बनाउन संसद् अधिवेशन आवश्यक देखिएको छ। अधिवेशन आह्वानका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभामुख डोलप्रसाद अर्यालसँग समेत संवाद गरिने उनले जानकारी दिए।
बैठकमा कांग्रेसका तर्फबाट आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक वासना थापा सहभागी थिए।
त्यस्तै, नेकपा एमालेकी संसदीय दलकी उपनेता पदमा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन, प्रमेश हमाल र युवराज दुलाल, जनता समाजवादी पार्टीका महन्त ठाकुर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीलगायत नेताहरू पनि छलफलमा सहभागी थिए।
