महाधिवेशनको तयारी र जनतासँगको सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहित देशभर अभियान सञ्चालन, मंसिर २५ गतेसम्म जारी रहने।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको संगठन विस्तार र जनसम्बन्ध सुदृढ गर्ने उद्देश्यले सञ्चालन गरेको दुई महिने राष्ट्रिय जागरण अभियानलाई तीव्रता दिएको छ।
अभियानअन्तर्गत संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालसहित पार्टीका शीर्ष नेताहरू विभिन्न जिल्लामा पुगेर कार्यक्रममा सहभागी भइरहेका छन्।
आगामी महाधिवेशनको तयारीसँगै जनतासँग पार्टीको सम्बन्ध थप मजबुत बनाउने लक्ष्य अभियानले राखेको छ। यस क्रममा सरकारले गरेका जनविरोधी कामबारे जनतालाई जानकारी गराउने र त्यसको विरोध गर्ने कार्यक्रम पनि सञ्चालन भइरहेको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताएका छन्।
पार्टीले अभियानलाई देशभित्र मात्र सीमित नराखी प्रवासमा समेत विस्तार गरेको छ। यसैक्रममा अन्तर्राष्ट्रिय नेपाली मञ्चको एसिया प्रवास समितिले आयोजना गरेको प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रममा संयोजक प्रचण्ड, सहसंयोजक नेपाल र नेतृ पम्फा भुसाललगायत नेताहरूले सम्बोधन गरेका छन्।
नेकपाका अनुसार जागरण अभियान मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ। अभियानसँगै आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वडा र पालिका अधिवेशनसमेत गर्ने पार्टीको तयारी छ।
