रुख चुनाव चिह्न नियमित महाधिवेशन पक्षले पाउने बस्नेतको दाबी, असन्तुष्ट नेता–कार्यकर्ता पनि फर्किने विश्वास
सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको व्यक्तिगत महत्त्वाकांक्षा र विदेशी शक्ति केन्द्रको प्रभावका कारण पार्टी विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन्।
पूर्वसभापति शेरबहादुर देउवा पक्षको सिन्धुपाल्चोक जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै बस्नेतले विशेष महाधिवेशनलाई कांग्रेस कमजोर बनाउने योजनाको हिस्सा भएको दाबी गरे। उनले यसअघि संविधानविद् प्रा. डा. सूर्य ढुंगेलले पनि विशेष महाधिवेशनपछि कांग्रेस विभाजन भइसकेको र त्यसको जिम्मेवारी गगन थापाले लिनुपर्ने धारणा राखेको स्मरण गराए।
बस्नेतले कांग्रेसजस्तो ऐतिहासिक पार्टी कुनै व्यक्ति वा बाह्य शक्तिको निर्देशन र लगानीमा सञ्चालन हुन नसक्ने बताए। पार्टीलाई बीपी कोइरालाले अघि सारेको सिद्धान्त, विचार र आदर्शअनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।
कांग्रेसलाई पुनः बलियो, संगठित र जनताको विश्वास जित्ने पार्टीका रूपमा स्थापित गर्न आफूहरू सक्रिय रहेको उनले बताए।
नेपालको राजनीतिमा वैचारिक सिद्धान्तभन्दा अवसरवाद प्रभावशाली बन्दै गएको टिप्पणी गर्दै बस्नेतले आफ्नो पक्षको अधिवेशनलाई त्यसविरुद्धको अभियानका रूपमा व्याख्या गरे। प्रजातान्त्रिक समाजवाद, साम्यवाद र पुँजीवादजस्ता विचारधाराको चर्चा हुने गरे पनि नेपालमा अवसरवाद हाबी भएको उनको आरोप थियो।
मेचीदेखि महाकालीसम्मका कांग्रेस कार्यकर्ताबाट आफूहरूले सञ्चालन गरेको अभियानप्रति सकारात्मक उत्साह प्राप्त भइरहेको बस्नेतले दाबी गरे। पद र अवसरका लागि मात्र नभई जिम्मेवारी पाए पनि नपाए पनि पार्टीप्रति निष्ठावान रहने कार्यकर्ता आवश्यक रहेको उनले बताए।
असन्तुष्टि जनाउँदै अर्को पक्षमा गएका नेता तथा कार्यकर्तासमेत पुनः कांग्रेसमै फर्किने उनको विश्वास छ। देशभरका कार्यकर्ताले पदभन्दा पार्टीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व गरेर जनताको हितमा काम गर्नुपर्ने धारणा राखे।
पार्टीको आधिकारिक चुनाव चिह्न रुख आफूहरू अर्थात् नियमित महाधिवेशन पक्षले नै प्राप्त गर्ने बस्नेतले दाबी गरे। अदालतको निर्णय आउन बाँकी रहे पनि रुख चिह्न आफ्नो पक्षले पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।
पूर्वसभापति देउवाले सबै जातजाति, भाषा, धर्म, लिङ्ग, वर्ग, क्षेत्र र मधेसलाई समेटेर पार्टी अघि बढाएको उल्लेख गर्दै बस्नेतले कठिन परिस्थितिमा साथ दिने नेतृत्वलाई नै जनताले विश्वास गर्ने बताए। नेपाली कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति भएको र मुलुकलाई संकटबाट निकास दिन सक्ने पार्टी पनि यही भएको उनको दाबी थियो।
