हेटौँडामा निर्माण सम्पन्न भएको प्रादेशिक कृषि थोक बजार १४ महिनासम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
६३ स्टल भाडामा लगाउन तीनपटक सूचना जारी गर्दा पनि पर्याप्त व्यवसायीले आवेदन दिएनन् ।
कानुनी अन्योल र जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडले बजार सञ्चालन थप प्रभावित बनायो ।
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–११ मा निर्माण गरिएको प्रादेशिक कृषि थोक बजार सञ्चालनमा ल्याउने प्रयास चुनौतीपूर्ण बनेको छ । स्टल भाडामा दिन सञ्चालक समितिले तीनपटक बोलपत्र आह्वान गरे पनि आवश्यक संख्यामा आवेदन नपरेपछि बजार सञ्चालनको प्रक्रिया अन्योलमा परेको हो ।
बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको बजारमा व्यवसायीको आकर्षण अपेक्षाअनुसार देखिएको छैन । ६३ वटा स्टल भाडामा लगाउने योजनासहित समितिले पहिलोपटक असोज १० गते सूचना प्रकाशित गरेको थियो । त्यसबेला १५ वटाभन्दा कम आवेदन परेपछि असोज २८ गते दोस्रोपटक बोलपत्र आह्वान गरियो । दोस्रो प्रयासमा पनि २५ वटाभन्दा कम आवेदन प्राप्त भएपछि कात्तिक ११ गते तेस्रोपटक सूचना जारी गरिएको थियो ।
प्रदेश कृषि थोक बजारका कार्यकारी निर्देशक टीका काफ्लेका अनुसार दसैँ–तिहारलगायतका चाडपर्वका कारण पनि व्यवसायीको सहभागिता कम भएको हुन सक्छ । स्टलको संख्याअनुसार आवेदन नआएपछि तेस्रोपटक सूचना निकालिएको उनले बताए ।
काफ्लेले अब पुनः बोलपत्र आह्वान नगर्ने र बजार सञ्चालनका लागि आगामी विकल्पबारे सञ्चालक समितिमा छलफल गरिने जानकारी दिए ।
बजारमा रहेका ६३ स्टलमध्ये ४० वटा थोक कारोबारका लागि र २३ वटा खुद्रा व्यापारका लागि छुट्याइएको छ । समितिले थोक स्टलको मासिक भाडा ८ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ । खुद्रातर्फ १२ वटा साना स्टलको भाडा ४ हजार ५०० र ११ वटा ठूला स्टलको भाडा ४ हजार ७०० रुपैयाँ तोकिएको छ ।
तत्कालका लागि बजारमा तरकारी तथा अन्य कृषि उपजको मात्रै खरिद–बिक्री गर्न पाइने व्यवस्था गरिएको छ । पशु तथा पोल्ट्रीजन्य वस्तुको कारोबार गर्न सकिने सम्भावना रहे पनि आवश्यक फोहोर व्यवस्थापन प्रणाली तयार नभएकाले त्यसलाई तत्काल अनुमति नदिइने निर्देशक काफ्लेले बताए ।
करोडौँ लगानीको संरचना प्रयोगविहीन
करिब ३० करोड ८७ लाख ६२ हजार ७८७ रुपैयाँको लागतमा निर्माण गरिएको यो बजार आधुनिक कृषि व्यापारिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले तयार पारिएको हो । एएनके माउन्टेनले निर्माणको ठेक्का पाएको परियोजनाको काम २०७८ जेठदेखि सुरु भएको थियो ।
प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण अघि बढाइएको आयोजनाको शिलान्यास २०७८ असार १८ गते गरिएको थियो । करिब दुई बिघा चार धुर क्षेत्रफलमा फैलिएको बजार परिसरमा चारवटा सुविधासम्पन्न भवन र एउटा शीतभण्डार निर्माण गरिएको छ ।
यहाँ थोक तथा खुद्रा बिक्री केन्द्र, किसानका लागि छुट्टै टहरा, प्रशासनिक भवन, क्यान्टिन र कोल्ड स्टोरेजको व्यवस्था छ । भवनमा भूमिगत पार्किङ, भण्डारण, प्याकिङ, ग्रेडिङ तथा कृषि उपज प्रशोधन गर्न सकिने संरचनासमेत तयार पारिएको छ । थोक तथा खुद्रा बजारका भवनमा दुईवटा लिफ्टको सुविधा पनि राखिएको छ ।
कानुनी अन्योलपछि आगजनी र तोडफोडको असर
निर्माण सम्पन्न भएको लामो समयसम्म सञ्चालनसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा बजार प्रयोगमा आउन सकेको थिएन । २०८२ साउन १८ गते निर्माण पूरा गरी हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको संरचना त्यसपछि पनि सञ्चालनविहीन रह्यो ।
त्यसैबीच जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले बजारका संरचनामा थप क्षति पुर्यायो । त्यसपछि तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयको पहलमा क्षतिग्रस्त संरचनाको मर्मत तथा आवश्यक पुनर्निर्माण गरी सञ्चालनयोग्य बनाउने काम गरिएको थियो ।
बजार सञ्चालनको प्रक्रियालाई सहज बनाउन बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०८३ वैशाख मसान्तमा प्रदेश कृषि थोक बजार सञ्चालन निर्देशिका जारी गरेको थियो । निर्देशिका जारी भएपछि सञ्चालनका लागि आवश्यक कानुनी आधार तयार भए पनि पर्याप्त व्यवसायी आकर्षित नहुँदा बजार पूर्ण क्षमतामा सञ्चालन हुने विषय अझै अनिश्चित बनेको छ ।
करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको पूर्वाधारलाई प्रभावकारी रूपमा उपयोग गर्न अब व्यवसायी आकर्षित गर्ने र सञ्चालनको उपयुक्त विकल्प खोज्ने चुनौती सञ्चालक समितिसामु देखिएको छ ।
